बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अरुण ३ मा जुट्यो एक खर्ब, दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी

अरुण ३ मा जुट्यो एक खर्ब, दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी

भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनामा लगानी जुटेको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं– भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनामा लगानी जुटेको छ। आयोजनाका लागि एक खर्ब रुपैयाँ बराबरको लगानी जुटेको हो।

राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आयोजनामा भारतीय बैंकले ८५ अर्ब लगानी लगानी गर्ने भएका छन्।

नेपाली बैंकले भने १५ अर्ब बढी लगानी गरेका छन्।

आयोजना निर्माणका लागि सतलज विद्युत् निगमले एसजेभिएन नामक कम्पनी स्थापना गरेको छ।

आयोजनाको हाल २५ प्रतिशत भौतिक प्रगति भएको छ। कुल ९०० मेगावाट क्षमताको सो आयोजनाको वित्तीय व्यवस्थापन भएपछि परियोजनाले थप गति लिने विश्वास गरिएको छ।

एसजेभिएनका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानका अनुसार आयोजनामा नेपालका एभरेस्ट र नबिल बैंकले रु १५ अर्ब ३६ करोड लगानी गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

यस्तै भारतीय बैंकहरु स्टेट बैंक अफ इन्डिया, पन्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया, क्यानरा बैंक र भारतीय आयात निर्यात बैंक (एक्जिम) ले ८५ अर्ब ९७ करोड ८८ लाख ऋण लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ।

आयोजनाको प्रवद्र्धक एसजेभिएनले करिब रु २५ अर्ब स्वपुँजीका रूपमा लगानी गरेको छ। सोही पैसाले नै हाल आयोजनाको काम भइरहेको छ।

आयोजनाको कुल लागत एक खर्ब १५ अर्ब बराबर पुग्ने अनुमान छ। आयोजनाको संरचना निर्माणका लागि एक खर्ब चार अर्ब तथा ११ अर्ब रकम भने प्रसारण लाइन निर्माणका लागि खर्च गरिनेछ।

नेपाल राष्ट्र बैंक र लगानी बोर्डले स्वीकृति दिएपछि औपचारिक रूपमा ऋण लगानी सम्झौता गरिएको हो।

प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डले बुधबार नै वित्तीय व्यवस्थापनका प्रवद्र्धक कम्पनीलाई स्वीकृति दिएको छ।

नेपालमा लगानी ल्याउन भारतीय रिजर्भ बैंकले समेत अनुमति दिएको छ। आयोजना आगामी २०७९ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजना आगामी २५ वर्षपछि चालू अवस्थामै नेपाल सरकारले प्राप्त गर्नेछ।

त्यस्तै प्रसारण लाइन निर्माणका लागि समेत भारतको पन्जाब नेसनल बैंकले रु आठ अर्ब लगानी गर्ने यसअघि नै सहमति भइसकेको छ।

परियोजना विकास सम्झौताअनुसार आयोजनाबाट नेपालले १९७ मेगावाट विद्युत् निःशुल्क प्राप्त गर्नेछ।

आयोजनामा नेपाली बैंकले लगानी गर्ने सहमतिपत्रमा २०७५ चैत १६ मा सम्झौता भएको थियो। प्रवद्र्धक एसजेभिएनले संखुवासभाको मकालु गाउँपालिकामा आयोजना निर्माण गरिरहेको छ।

वित्तीय व्यवस्थापन गरेपछि आयोजनाको सम्झौता अवधि गणना हुनेछ।

सतलजभन्दा पहिले परियोजना विकास सम्झौता गरेको माथिल्लो कर्णालीको कुनै काम नभइरहेको बेला सतलजको भने निर्माण प्रगति एवं वित्तीय व्यवस्थापनसमेत गरेर आयोजनालाई गति दिएको हो।

सरुमा आयोजनाको लागत एक खर्ब चार अर्ब हुने भनिए पनि विभिन्न कारणले लागत बढेर एक खर्ब १५ अर्ब जति पुगेको छ।

लगानी बोर्ड र सतलज विद्युत् निगमबीच २०७१ साल मंसिर ९ गते परियोजना विकास सम्झौता (पीडीए) भएको थियो।

हाल आयोजनाको बाँध तथा सुरुङ मार्ग निर्माण भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले २०७५ वैशाखमा स्विच थिचेर आयोजनाको शिलान्यास गरेका थिए।

हाल आयोजनाको प्रसारण लाइन निर्माणको समेत काम सुरु भएको छ। केही जिल्लामा प्रसारण लाइन प्रभावितलाई मुआब्जा वितरणको कामसमेत भइसकेको छ।

आयोजना स्थल संखुवासभाबाट, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ। सो प्रसारण लाइन २१७ किलोमिटर लामो हुनेछ। प्राधिकरणले निर्माण गरिरहेको ढल्केबरस्थित ४०० केभी क्षमताको सबस्टेसनमा विद्युत् जोडिनेछ।

सोही सबस्टेसनबाटै नेपालले पाउने विद्युत् लिनेछ भने बाँकी विद्युत् भारत लगिनेछ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ठूलो आयोजनामा लगानी गर्न पाउनु आफूहरुका लागि पनि गौरवको विषय भएको बताए।

निर्माणधीन आयोजनामा करिब तीन हजारले रोजगारी पाएका छन् भने स्थानीयवासीले मासिक ३० युनिट विद्युत् निःशुल्क पाउने व्यवस्था छ।

अरुण तेस्रो आयोजनाबाट नेपालले २५ वर्षमा कुल तीन खर्ब ४८ अर्ब राजस्व पाउने गरी परियोजना विकास सम्झौता गरिएको छ। -रासस

प्रकाशित: Feb 06, 2020| 15:51 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्