काठमाडौं– सीमावर्ती चीनकोे चाँगामा अलपत्र परेका १४ नेपालीको प्रहरीले उद्धार गेको छ। कामको लागि चाँगा पुगेका संखुवासभा र ताप्लेजुङका १४ नेपालीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंगलबार दिउँसो उद्धार गरेको हो।
चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गर्दा उतै अलपत्र परेका संखुवासभाका १२ र ताप्लेजुङका २ जनाको प्रहरीले उद्धार गरेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले जानकारी दिए।
प्रजिअ दुलालका अनुसार नेपालीको चिनियाँ चिकित्सकले स्वास्थ्य जाँच गर्दा कोरोना भाइरस संक्रमण नरहेको पाइएको छ।
सीमाबासी नेपालीहरुको रोजगारी र सामान खरिद गर्ने बजार चाँगा नै रहेकाले पछिल्लो पटक माघ ५ गतेदेखि किमाथांका नाका बन्द हुँदा गाउँमा खाद्यान्न संकटको अवस्था आएको स्थानीयले बताएका छन्।
सदरमुकामदेखि पाँच दिनको पैदल दूरीमा रहेको भोटखोलाका नागरिक दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन्। किमाथांका गाउँ र चीनको चाँगा बजार बीचमा रहेको कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन्।
सोमबारको गाउँ कार्यपालिकाको बैठकले किमाथांकाका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने विषयमा निर्णय गरेर खाद्यान्न व्यवस्था गर्न जिल्ला प्रशासनलाई लेखिपठाएको प्रजिअ दुलालले बताए।
सीमावर्ती क्षेत्रका नागरिकलाई आवश्यक खाद्यान्न प्रवन्ध गर्नका लागि प्रदेशको आन्तरिक मामिला मन्त्रालयसँग समन्वय भैरहेको दुलालले जानकारी दिए।