सोमबार, जेठ २६, २०८२

‘एकदिवसीय विश्वकप २०२३’मा पुग्ने नेपालको रोडम्याप

अहिलेसम्म एकदिवसीय विश्वकप क्रिकेट नखेलेको नेपालले आगामी संस्करणकाे विश्वकपमा सहभागी हुने लक्ष्य लिएको छ। तर, छिमेकमै आयोजना हुने ५० ओभरको विश्वकपमा सहभागी बन्न नेपालले दुई खुड्किला उक्लिनुपर्नेछ।
 |  सोमबार, माघ १३, २०७६
nespernesper

विनय सापकोटा

विनय सापकोटा

सोमबार, माघ १३, २०७६

vianetvianet

काठमाडौं– अबको तीन वर्षपछि भारतमा ‘एकदिवसीय विश्वकप २०२३’ आयोजना हुँदैछ। अहिलेसम्म एकदिवसीय विश्वकप क्रिकेट नखेलेको नेपालले उक्त विश्वकपमा सहभागी हुने लक्ष्य लिएको छ। तर, छिमेकमै आयोजना हुने ५० ओभरको विश्वकपमा सहभागी बन्न नेपालले दुई खुड्किला उक्लिनु पर्नेछ।

चुनौतीका हिसाबले ती खुड्किला पार गर्न निकै गाह्रो छ। तर, असम्भव भने छैन।

चुनौती यस हिसाबले छ की, नेपालले आजसम्म ‘विश्वकप लिग २’ खेलेको छैन।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल पहिलोपटक ‘लिग २’ प्रतियोगिता खेल्दा चुनौती रहेको बताउँछन्। “लिग २’ मा बलिया टिम भएकाले हरेक खेल चुनौतीपूर्ण छन्,” उनी भन्छन्।

प्रतियोगिता चुनौतीपूर्ण भए पनि खेलाडी मानसिक रुपमा तयार रहेको उनको भनाइ छ। हालै पोखरामा सम्पन्न मलेसिया ११विरुद्धको जितले खेलाडीको मनोबल उच्च भएको उनकाे भनाइ छ। 

National life insurance

अनि सम्भावना यस हिसाबले छ कि, प्रत्येक चरणबाट एकभन्दा बढी टोलीलाई विश्वकपमा भाग लिन मार्गप्रशस्त हुन्छ। नेपाल तालिकाको शीर्ष स्थानमा नपरे पनि विश्वकपमा जाने बाटो गुमाउने छैन।

तर, कसरी ?

यसलाई बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले जारी गरेको ‘खेलको चक्रीय रणनीति’बारे जान्नुपर्ने हुन्छ।

इंग्ल्यान्डमा सन् २०१९ मा एक दिवसीय विश्वकप सम्पन्न भएपछि ५० ओभरका खेलले एक महिना विश्राम पायो। विश्रामको अवधि सकिएलगत्तै यसका तीन शृंखला सुरु भए।

यी हुन्– ‘क्रिकेट विश्वकप सुपर लिग’, ‘लिग २’ र ‘च्यालेन्जिङ लिग’।

यी तीनै शृंखलाको लक्ष्य भने एउटै छ, विश्वकप २०२३ का लागि राष्ट्रको निर्क्याेल गर्नु।

‘क्रिकेट विश्वकप सुपर लिग’बाहेक ‘लिग २’ र ‘च्यालेन्जिङ लिग’का खेल सुरु भएका हुन्।

नेपाललाई विश्वकपमा पुर्‍याउने प्रतियोगिता भनेको ‘लिग २’ हो। तर, लिग सुरु भएको चार महिनासम्म नेपालले एक खेल पनि खेलेको छैन। प्रतियोगितामा छनोट भएका अन्य ६ टोलीले भने आठ खेल खेलिसकेका छन्।

नेपालले आफ्नो पहिलो खेल घरेलु मैदानमै खेल्दैछ।

‘लिग २’ अन्तर्गतको त्रिपक्षीय शृंखला माघ २२ गतेबाट राजधानीको कीर्तिपुर क्रिकेट मैदानमा आयोजना हुँदैछ।

स्कटल्यान्डको मनोफिल्ड पार्कमा उद्घाटन भएको ‘लिग २’ अमेरिका, युएई र ओमानपछि नेपाल आइपुगेको हो।

‘लिग २’ कस्तो प्रतियोगिता हो ?

आईसीसी विश्व क्रिकेटको लिग च्याम्पियनसिपको नयाँ रूप हो, ‘लिग २’।

साढे दुई वर्षसम्म चल्ने यो प्रतियोगितामा नेपालसहित अमेरिका, स्कटल्यान्ड, नामिबिया, ओमान, युएई र पपुवा न्युगिनी सहभागी छन्, जसमा स्कटल्यान्ड, नेपाल र युएई जिम्बाब्वेमा सम्पन्न क्रिकेट विश्वकप क्वालिफायर २०१८ बाट छानिएका हुन् भने ओमान, नामिबिया, पपुवा न्युगिनी र अमेरिका ‘विश्व क्रिकेट लिग डिभिजन २’ बाट छनोट भएका हुन्।

प्रतियोगिताअन्तर्गत प्रत्येक टिमले साढे दुई वर्षमा ३६ एकदिवसीय खेल खेल्नेछन्। प्रत्येक टोलीले ३६ खेल खेल्दा लिगको खेल संख्या एक सय २६ हुनेछ।

लिगअन्तर्गत २१ त्रिपक्षीय शृंखला सञ्चालन हुनेछन्। एक शृंखलामा ६ खेल हुँदा एक टिमले ४ खेल खेल्नेछन्। प्रत्येक सदस्यले एक सिजनमा कम्तीमा पनि एक त्रिपक्षीय खेल आयोजना गर्नुपर्ने हुन्छ।

लिगको शीर्ष तीन टिम विश्वकप क्वालिफायरमा छानिनेछन् भने बाँकी ४ टोली विश्वकप क्वलिफायर प्लेअफमा पुग्नेछन्।

नेपाल ‘लिग २’ को शीर्ष तीनमा पर्न सफल भए विश्वकप क्वालिफायर २०२२ मा पुग्नेछ। तर, शीर्ष तीनमा नपरेको खण्डमा ‘प्ले अफ’मा जनुपर्ने हुन्छ। प्लेअफबाट पनि विश्वकपमा जान सम्भव छ।

यस्तो छ अंकतालिका

अंकतालिकामा अमेरिका शीर्ष स्थानमा छ। अमेरिकाले ६ खेलमा जित निकाल्दै १२ अंक बटुलेको छ। त्यस्तै, स्कटल्यान्डको ९, नामिबिया तथा ओमानको ८–८, युएईको ७ अंक छ। पपुवा न्यूगिनी भने अंक जोड्न सकेको छैन। 

नेपाल पनि अंकविहीन छ। तर, नेपालले अहिलेसम्म खेल खेलेको छैन।

‘विश्वकप क्वालिफायर २०२२’

यो १० देशका टिमबीचको खेल हो। सन् २०२२ मा हुने क्वालिफायरमा सुपर लिगबाट आएका पाँच टोली, ‘लिग २’ बाट छानिएका तीन टोली र विश्वकप क्वालिफायर प्लेअफका दुई टाेलीकाे प्रतिस्पर्धा हुनेछ।

एक टिम क्रिकेट विश्वकप सुपर लिगका लागि छानिने छ। सुपर लिग खेल्ने १३ औं स्थानको टोली र ‘लिग २’ खेलेको शीर्ष स्थानको टोलीबीच प्रदर्शनको आधारमा कसलाई मान्यता दिने भनेर आईसीसीले निर्धारण गर्छ।

तुलनात्मक रूपमा राम्रो प्रदर्शन गर्ने टोलीले नयाँ संस्करणको सुपर लिगमा भाग लिन पाउनेछ।

यसबाहेकका टोलीले ‘लिग २’को नयाँ सिजनमा खेल्न पाउने छन्।

‘विश्वकप क्लालिफायर प्लेअफ २०२२’

सन् २०२२ मा ६ समूह सम्मिलित खेल खेलाइनेछ, जसमा चार टोली विश्वकप ‘लिग २’ बाट र च्यालेन्ज लिग ‘ए’ र ‘बी’का शीर्ष दुई टोली  प्रतिस्पर्धा गर्नेछन्।

यो लिगमा प्रतिस्पर्धा गर्ने शीर्ष दुई टोली विश्वकप क्रिकेट क्वालिफायर २०२२ मा सहभागी बन्नेछन्।

नेपालले नखेल्ने अन्य दुई लिग पनि छन्। एउटा, नेपालभन्दा माथिल्लो वरीयता भएका देशले खेल्ने लिग, ‘सुपर लिग’ र अर्को, नेपालभन्दा तल्लो वरीयता भएका देशले खेल्ने लिग, विश्वकप च्यालेन्जिङ ‘ए’ र ‘बी’ लिग।

‘क्रिकेट विश्वकप सुपर लिग’

१३ राष्ट्रले खेल्ने लिग हो। दुई वर्षसम्म चल्ने लिगमा एकदिवसीय वरीयताका शीर्ष १२ टोली र नेदररल्याण्ड सहभागी छन्।

नेदरल्याण्ड आईसीसी विश्व क्रिकेट च्याम्पियनसिप २०१५–१७ बाट जित निकालेर सुपर लिगमा समावेश भएको हो।

यो लिगमा प्रत्येक टोलीले आठ सदस्य टोलीसँग दुईपक्षीय खेल खेल्नुपर्छ।

प्रत्येक दुईपक्षीय खेलमा तीन खेल खेल्दा हरेक टोलीले २४ खेल खेल्नुपर्ने हुन्छ। यसरी सुपर लिगमा दुई वर्षभित्र एक सय ५६ खेल खेलिन्छ। तर, प्रतिस्पर्धा गर्ने टोलीले परस्पर समझदारीबाट खेल खेल्नुपर्ने हुन्छ।

यस लिगबाट ७ शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछन्। बाँकी ५ टीम विश्वकप क्वालिफायर २०२२ मा जान्छन्।

आउँदो १ मेबाट ३१ मार्च २०२२ सम्मको यो लिग नेपालको वरीयताभन्दा अगाडि भएका टोलीले खेल्ने लिग हो। त्यसैले नेपाल यो लिगमा समावेश छैन।

‘विश्वकप च्यालेन्जिङ ‘ए’ र ‘बी’ लिग’

सन् २०१९ मा सुरु भएर सन् २०२१ मा सकिने लिग हो– विश्वकप च्यालेन्जिङ ‘ए’ र ‘बी’ लिग । यसमा विश्व वरीयतामा २१ देखि ३२ स्थानका १२ टिम प्रतिस्पर्धा गर्छन्।

च्यालेन्ज लिग ‘ए’मा क्यानाडा, डेनमार्क, मलेसिया, कतार, सिंगापुर र भानुआटु रहेका छन्। त्यस्तै, च्यालेन्जिङ लिग ‘बी’अन्तर्गत बर्मुडा, हङकङ, इटाली, जर्सी, केन्या र युगाण्डा रहेका छन्।

यसका ६ टिमले टुनामेन्ट फर्म्याटमा खेल खेल्नेछन्, जसमा प्रत्येक टिमले वार्षिक पाँच खेल खेल्नेछन्। यसका सबै टोलीलाई लिस्ट ‘ए’ स्टाटस प्रदान गरिएको हुन्छ।

त्रिपक्षीय क्रिकेट शृंखलाको तयारी पूरा

नेपालमा माघ २२ बाट सुरु हुन लागेको त्रिपक्षीय शृंखलाकाे तयारी पूरा भएकाे छ। त्रिपक्षीय शृंखलाका लागि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले काठमाडौंका दुई क्रिकेट मैदान तयार पारेको छ।

क्यान सचिव अशोकनाथ प्याकुरेलले शृंखलाका सबै खेल कीर्तिपुर क्रिकेट मैदानमा हुने भए पनि भए पनि खेलाडीको सुविधाका लागि मुलपानीको क्रिकेट मैदान तयार पारिएको बताए। उनले भने, “हामीले तयारी पूरा गरिसक्यौं।” उनका अनुसार फेब्रुअरी २ मा अमेरिकी टिम नेपाल आउनेछ।

उनले शृंखला चल्ने अवधिमा भने तीनवटै टिमलाई समय मिलाएर मूलपानीको मैदान उपलब्ध गराउने बताए।

नेपाली टोली कीर्तिपुर मैदानमा नेटमा अभ्यास गरिरहेको छ। नेपाली टाेलीका कप्तान मल्लले प्रतियोगिताको तयारीका लागि कीर्तिपुर क्रिकेट मैदानमा नेट अभ्यास गरिरहेको बताए। 

प्रकाशित: Jan 27, 2020| 12:01 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।