काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबार रातिदेखि काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
यो क्रम आज (शुक्रबार) दिनभरजसो जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिलेसम्म काठमाडौं उपत्यकामा १५ मिलिमिटर वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
आज दिनभरजसो अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने उनले बताए । उनका अनुसार पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ ।
वर्षा र हिमपातसँगै विस्तारै वृद्धि भएको तापक्रम फेरि घटेको छ । ७ डिग्रीसम्म पुगेको काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीमा झरेको छ । जुम्लाको ०.७ र जिरीको तापक्रम ०.२ डिग्री छ । अधिकतम तापक्रम पनि घटेका कारणले चिसो बढेको महाशाखाले जनाएको छ ।
शनिबारबाट भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले बताए । उनका अनुसार शनिबार दिउँसोसम्ममा अधिकांश क्षेत्रको आकाश खुल्नेछ भने आइतबारबाट घाम लाग्ने छ ।
यस्ताे हुनेछ आगामी तीन दिनको मौसम
माघ ३ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ।
माघ ४ गते (शनिबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।
माघ ५ गते (आइतबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।
राति: देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।