आइतबार, चैत १, २०८२

नयाँ वर्ष : अमेरिकी इतिहासको हृदयविदारक दिन !

विश्व महाशक्ति राष्ट्र अमेरिकाका नागरिक पनि यी दुई दिनलाई विशेष रूपमा मनाउँछन्। अमेरिकी इतिहासमा पनि यो दिन त्यति सुखद मानिँदैन।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

संसारभर डिसेम्बर ३१ को साँझ पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत हर्षोल्लासपूर्वक गरिन्छ।

National life

विश्व महाशक्ति राष्ट्र अमेरिकाका नागरिक पनि यी दुई दिनलाई विशेष रूपमा मनाउँछन्। अमेरिकी इतिहासमा पनि यो दिन त्यति सुखद मानिँदैन।

अमेरिकी गृहयुद्धपूर्व त्यहाँका नागरिकका लागि नयाँ वर्षको पहिलो दिन हृदयविदारक हुन्थ्यो। नागरिक दासका रूपमा किनबेचमा पर्थे। धेरै मानिस बेचिन्थे।

त्यसैले अफ्रिकी–अमेरिकी समुदायमा नयाँ वर्षको पहिलो दिनलाई ‘हायरिङ डे’ अर्थात् भाडामा लगाइने दिन वा ‘हार्ट–ब्रेक डे’ अर्थात् हृदयविदारक दिनका रूपमा लिइन्थ्यो। 

दासताविरोधी पत्रकार विलियम कुपर नेलका अनुसार वर्ष सकिँदै गएपछि मानिसमा त्रासको वातावरण छाउँथ्यो। मालिकले बेच्लान्/भाडामा लगाउन् र परिवारबाट छुट्टिनुपर्ला भनेर भयभीत हुन्थे उनीहरू।

Laxmi sunrise bank
kumari

जनवरी आउनुअगाडिदेखि उनीहरु आफ्नो किनबेच मानवीय तरिकाले होस् र परिवारसँग अलग्गिनु नपरोस् भनेर भगवानसँग प्रार्थना गर्थे।

मुलुकको दक्षिणी भागमा मानिसलाई दासका रूपमा भाडामा लगाउनु र किनबेच गर्नु सामान्य थियो। नाफा कमाउने व्यापार जस्तै थियो यो प्रथा।

साउर्न मेथोडिस्ट विश्वविद्यालयका प्राध्यापक एवम् नयाँ वर्ष इतिहासका विज्ञ अलेक्सिस म्याक्क्रोसन भन्छिन्, ‘अमेरिकामा ‘हायरिङ डे’ का दिन ठूलो आर्थिक कारोबार हुन्थ्यो। मानिसले आफ्ना दास किनबेच गरेर वर्षभरिको ऋण चुक्ता गर्थे।’

नयाँ वर्षकाे दिन केही दासलाई जनवरीदेखि सम्झौता हुने गरी लिलामीमा राखिन्थ्यो।

दासहरूको किनबेच अवधि सम्झौताअनुसार लामो वा छोटो हुने गर्थ्याे । सम्झौता परिवारका सदस्य, साथीहरू या त व्यापारिक साझेदारीबीच निजी रूपमा हुन्थ्यो।

दासको मोलमोलाई खुला चौर, अदालत या त सडक पेटीमै गर्ने चलन थियो।

‘हायरिङ डे’ को लेखाजोखा तिनै व्यक्तिहरूले गरेका छन् जो लामो सङ्घर्षपछि स्वतन्त्र भएका थिए। दास जीवन बिताएका लुइस क्लार्कले सन् १८४२ मा भनेका थिए, ‘नयाँ वर्षको दिनलाई दासले वर्षकै सबैभन्दा खराब दिनका रूपमा लिन्थे।’

‘नयाँ वर्षका दिन हामी लिलामी ब्लकमा जान्थ्यौँ र सबैभन्दा धेरै मूल्य जसले दिन्छ, उसैको दास हुन्थ्याैँ वर्षभरका लागि,’ इजरायल क्याम्पबेलले सन् १८६१ मा फिलाडेल्फियामा प्रकाशित एक संस्मरणमा लेखेका थिए।

उनी दासी जीवन बिताउँदा तीन पटकसम्म बेचिएका थिए। पूर्वदास रहेका सिस्टर ह्यारिसनले सन् १९३७ को अन्तर्वार्तामा भनेका थिए, “नयाँ वर्षको पहिलो दिन जे काम गरिन्छ, वर्षभर त्यही काम गर्नुपर्छ भन्ने भनाइ दास प्रथाबाट सुरु भएको हो।”

ह्यारिएट जेकब्सले सन् १८६१ को अटोबायोग्राफी 'इन्सिडेन्टस इन द लाइफ अफ अ स्लेभ गर्ल' को ‘द स्लेभ्स न्यु इयर डे’ अध्यायमा विस्तृत रूपमा लेखेकी छिन्।

उनका अनुसार जनवरी १ लाई दक्षिणमा ‘हायरिङ डे’ का रूपमा लिइन्थ्यो। भोलिपल्टबाटै दासहरूलाई नयाँ मालिकको जिम्मा लगाइन्थ्यो। उनले कपास र मकै बाली उठाउने मौसमदेखि रोप्ने मौसमसम्म दासहरुलाई भाडामा लेनदेन गरेको नजिकबाट नियालेकी थिइन्।

थुप्रै दासीका लागि क्रिसमसदेखि नयाँ वर्षको साँझसम्मको समय ज्यादै पीडादायी हुन्थ्यो। जेकब्सका अनुसार नयाँ वर्षको दिन तोकिएको समयमा दासहरु चौरमा भेला भएर किनबेच निर्णयको पखाईमा हुन्थे, अपराधीले सजायको फैसला पर्खिएझैँ।

एक दिन जेकब्सले साह्रै नरमाइलो दृश्य देखिन्। एउटी महिला आफ्ना सात सन्तानलाई लिएर लिलामीमा बसेकी थिइन्। केही सन्तान कसैले किनेर लाँदैछन् भन्ने उनलाई जानकारी त थियो तर बिस्तारै सबै सन्तान बिक्री भए। दासहरू लगेर कहाँ कसलाई बेचिन्छ भन्ने निश्चित थिएन।

जसले धेरै मूल्य दिन्थे, उसैको जिम्मा लगाइन्थ्यो। जेकब्स भन्छिन्, ‘ती सन्तानका आमा रुँदै बिलौना गरेको कारुणिक दृश्य जीवनभर बिर्सन सक्दिनँ।’

नयाँ मालिककहाँ जान नमान्ने दासहरुलाई कोर्रा लगाएर जेलमा हालिन्थ्यो। नयाँ ठाउँमा जान नमानेसम्म र गएपछि नभाग्ने कबोल नगरेसम्म उनीहरुलाई क्रूर सजाय दिइन्थ्यो। पाका दासहरु प्रायः कमजोर हुन्थे।

अमेरिकी दासत्वको इतिहासमा नयाँ वर्षको दिन त्रासदीपूर्ण मात्र छैन, स्वतन्त्रतासँग पनि सम्बन्धित छ। सन् १८०८ को नयाँ वर्षमा मानिसलाई दासका रूपमा किनबेच गर्ने प्रथामाथि प्रतिबन्ध लाग्यो।

त्यति बेला छोटो समयका लागि भए पनि अफ्रिकी–अमेरिकी समुदायले उत्सव मनाएका थिए। म्याक्क्रोसन भन्छिन्, ‘सन् १८०८ देखि १८३१ सम्म दास–व्यापार उन्मूलनसम्बन्धी विभिन्न उत्सव मनाइए। ती उत्सव लामो समयसम्म टिक्न सकेनन्। कारण- अमेरिकामा घरेलु दास–व्यापारले जरा गाडिसकेको थियो।’

हिंसात्मक गतिविधिको जोखिम पनि उत्तिकै थियो। न्युयोर्क सहरमा सन् १८२७ को नयाँ वर्षको अघिल्लो दिन गोराको समूहले अफ्रिकी–अमेरिकी समूहलाई आक्रमण गर्नुका साथै उनीहरुका चर्चमा समेत तोडफोड गरेका थिए।

सन् १८६३ को पहिलो दिन नयाँ वर्षका अवसरमा अब्राह्म लिंकनले दासमुक्ति घोषणामा हस्ताक्षर गरेका थिए। त्यसपछि अमेरिकामा नयाँ वर्षको दिन दिइने छुट्टीलाई स्वतन्त्रतासँग जोडेर लिन थालियो।

दासहरुले डिसेम्बर ३१, सन् १८६२ मा प्रार्थना गरेका कारण मुक्ति पाएको एउटा जनविश्वास छ।

त्यसैले अमेरिकामा अहिले पनि नयाँ वर्षको अघिल्लो दिन राष्ट्रव्यापी रूपमा अफ्रिकी–अमेरिकी चर्चहरुले प्राथना गर्ने सुविधा दिँदै आएको छ।

टाइम डटकमबाट
अनुवाद : निरु मगर

प्रकाशित: Dec 31, 2019| 07:27 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।