शुक्रबार, असार ६, २०८२

मेलबर्नको मञ्‍चबाट शुक गुरुङको विदाइ

 |  मंगलबार, पुस ८, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

vianetvianet

मेलबर्न– नेपथ्य ब्याण्डको पहिलो हिट गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’का सर्जक शुक गुरुङको विदाइ नेपथ्यले अष्ट्रेलियाको मेलबर्नबाट गरेको छ। नेपालमा गुरुङको निधन हुँदा नेपथ्यको टोली अष्ट्रेलिया भ्रमणमा थियो।

मेलबर्नको मञ्चमा सोमबार साँझ गीत गाउँदै गर्दा नेपथ्यका मुख्य गायक अमृत गुरुङले शुकलाई यसरी सम्झिए– ‘‘हिजो नेपथ्यले एउटा साथी गुमाएको छ। एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत ‘छेक्यो छेक्यो’ दिएका थिए। म शुक गुरुङको सम्झनामा यसै मञ्चबाट हाम्रो हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उनको आत्मालाई शान्ति मिलोस्। शुकजीले नेपथ्यको प्रारम्भिक कालमा ‘छेक्यो छेक्यो’ गाउन दिएर हामीलाई ठूलो गुन लगाए । उनको सम्झनाका रुपमा उनका कृति रहिरहने छन्।’

मिर्गौला रोगले पीडित संगीतकर्मी गुरुङको आइतबार बिहान निधन भएको थियो।यो खबर थाहा पाउनेबित्तिकै अमृतले आइतबारै उनको सामाजिक सञ्जालमा शोक प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

‘कुनै पनि संगीतकर्मीलाई संगीतकै माध्यमबाट सम्झना गरिनुपर्छ । हाम्रा लागि र तपाइँहरु सबैका लागि सदैव प्रिय रहिरहने उनले रचेका गीत गाएरै शुक गुरुङको जीवनलाई उत्सवका रुपमा मनाऔं,’ उनले थपे। त्यसपछि अमृतले ‘छेक्यो छेक्यो’ गाएका थिए ।

मेलबर्नको प्रस्तुति सकिएसँगै नेपथ्यको यस वर्षको श्रृंखलाबद्ध अष्ट्रेलिया यात्रा सम्पन्न भएको छ। ब्याण्डको यो पाँचौं अष्ट्रेलिया यात्रा थियो।

प्रकाशित: Dec 24, 2019| 03:56 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्