काठमाडौं- सरकारले चीनसँग ससामाधान भइसकेको सीमा विवाद बल्झाउन लागेको छ। गत वर्ष हुम्ला जिल्लासँग जोडिएको नेपाल-चीन सीमामा नेपाली भूभाग ओगट्ने गरी चिनियाँ पक्षले भवन निर्माण गर्ने विषय विभिन्न सञ्चारमाध्यम एवं समाजिक सञ्जालमा व्यापक उठ्ने गरेको थियो।
त्यसपछि नापी विभागले सीमाको नक्सा, फिल्ड भ्रमणलगायत हेरेर चीनसँग सीमा विवादको समस्या नरहेको परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो। सोही आधारमा परराष्ट्र मन्त्रालयले गत सेप्टेम्बर २३ मा विज्ञप्ति जारी गर्दै हुम्लामा सीमा जोडिएको चिनियाँ सीमामा विवाद नरहेको जानकारी गराएको थियो।
सोही विषयमा सरकारले फेरि अध्ययन गर्न लागेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले हुम्ला जिल्लामा विवाद भनिएको सीमाको अध्ययन गर्ने निर्णय गरेको छ। देउवा नेतृत्वको सरकारले बुधबार उक्त सीमाको अध्ययनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारी र सीमाविद्हरू सम्मिलित समिति गठन गरेर अध्ययन गर्ने निर्णय गरिएको बुधबार सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिएका थिए।
यसबाट सामाधान भइसकेको समस्या सरकारले फेरि बल्झाउन लागेकाले चीनसँगको सम्बन्धमा चिसोपना उत्पन्न हुन सक्ने भन्दै जानकारहरूले चिन्ता व्यक्त गरेका छन्।