काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातिको समयमा तीव्र गतिका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पिडगन’ सहितको चेकिङ सुरु गरेको छ। कोटेश्वर–सूर्यविनायक सडक, रिङरोड र चौडा सडकमा तीव्र गतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई ध्यान दिई ट्राफिक प्रहरीले लेजर गन प्रयोग गरी तीव्र गति नियन्त्रण अभियान सुरु गरेको हो।
‘दिउँसो हुने चेकिङमा तीव्र गतिमा सवारी चलाउने ३५÷४० जना चालकलाई लेजर गनमार्फत कारबाही गर्दै आएका छौं, अब रातको समयमा समेत ओभरस्पिड चेकिङ गरी गति नियन्त्रण गर्ने अभियान पहिलो पटक सुरु गरेका छौं’, महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने।
तीव्र गतिमा सवारी चलाउने चालकलाई कारबाहीका साथै सचेत गराएको एसएसपी भट्टराईले बताए। उनले बुधबार रातिदेखि नाइट भिजन लेजर स्पिड गन प्रयोग सुरु गरेको र यसले तीव्रगति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।