कालिकोट- भूमि सम्बन्धी समस्या सामाधान आयोगले कालिकोटमा ३३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) दिएको छ। लामो समयदेखि भोगचलन गर्दै आएको जमिनलाई नाममा गरेर ३३ जनालाई रातोपूर्जा दिइएको हो।
२०५४ सालमा नापजाँच भएर पूर्जा नपाएका ३३ जनालाई पूर्जा वितरण गरेको आयोगका विषय विज्ञ सचिव रमेश नेपालीले जानकारी दिए।पूर्जा पाउनेमा खाँडाचक्र नगरपालिकाका ११ जना, पलाँता गाउँपालिकाका १५ जना र नरहरीनाथ साविकको मालकोटका ७ जना रहेका छन्।
विगतको आयोगबाट नापजाँच गरिसकेर पूर्जा मात्र पाउन बाँकी रहेकाहरुको अधुरो काम पुरा गरेको आयोगका अध्यक्ष धिरबहादुर बमले बताए।जिल्लामा रहेका सुकम्बासीको हकमा भने काम सुरु भएको छैन। उनीहरुलाई पनि आफ्नो कार्यकालमा लालपूर्जा बाँड्ने अध्यक्ष बमले बताएका छन्। सरकारले नहटाएमा सुकम्बासीको पनि समस्या समाधान गर्ने उनको भनाइ छ। -न्युजकारखाना