काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एक क्लबमा परिवारसहित नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
शाह यसअघि दरबारमार्गमा नाचेको भिडियो सार्वजनिक हुँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र खतरामा परेको अभिव्यक्ति दिएका थिए।
शाहको नाच र प्रचण्डको अभिव्यक्ति जोड्दै राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भनेका छन् ,‘त्रिसारामा नाच्दा गणतन्त्र खतरामा परेको भनिएको थियो ठमेलमा नाच्दा कस्तो प्रतिक्रिया आउने हो कुन्नि ?’
ज्ञानेन्द्र शाह नाचेको भिडियो ट्वीटरमा सेयर गर्दै राप्रपा अध्यक्ष कमल थापाले आफूहरुले यस्तै राजा चाहेको दाबी गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्,‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा। जनताको राजा, नागरिक राजा। जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने। संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक राजसंस्था ।
आफूहरुले संविधानको परिधिमा रहेको सवैधनिक राजा चाहेको कुरा पनि थापाले प्रष्ट पारेका छन्।