सुर्खेत- सल्यानका एक जना वडाध्यक्षले पदबाट राजीनामा दिएर शिक्षक बनेका छन्। सिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष दिनेशकुमार बिएम शिक्षक बनेका हुन्।
उनी शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा उत्तिर्ण भएका थिए। मुस्ताङ जिल्लाबाट आदिवासी जनजाति कोटामा नाम निकालेका बिएमले वडाध्यक्ष पदबाट राजीनामा दिएका छन्।
उनी मुस्ताङको विद्या ज्ञान आधारभूत विद्यालयमा आइतबारदेखि हाजीर भएको छन्।
‘मुस्ताङमा चिसो बढेको छ, त्यहाँका विद्यालयहरु जाडो छेल्न पोखरा आएका छन्’ उनले भने ‘आजदेखिनै पोखरा बसेर विद्या ज्ञान आधारभूत विद्यालयको घुम्ती शिविरमा पढाउन थालेका छु।’ अब राजनीति गर्नुभन्दा विद्यार्थीलाई आफूसँगको ज्ञान बाढेर शैक्षिक गुणस्तर सुधारमा लाग्ने उनको भनाइ छ।
‘वडाअध्यक्षमा न त अधिकार देखियो न सुविधा, जनताको लागि केही गर्न सकिएन’ बिएमले भने ‘पद ओगटेर जनतालाई आशा देखाउनुभन्दा शिक्षक हुन सही ठानेँ।’
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी गोलाप्रथाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
वडाध्यक्ष बिएम र तत्कालीन नेकपा एमालेका उम्मेदवार देबेन्द्र रोकाले समान ३ सय २१ मत प्राप्त गरेका थिए। सहमतिमा गोलाप्रथा गर्न तयार भएपछि वडाध्यक्षको पद बिएमको हातमा परेको थियो।
गत बुधबार गाउँपालिकामा राजीनामा बुझाएका बिएमको सोही दिन कार्यपालिकाको बैठकले स्वीकृत गरेको थियो।
बिएमको राजीनामा स्वीकृत भएपछि जेष्ठ वडा सदस्य वीरबहादुर खड्कालाई कार्यबाहक वडाअध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए।