नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले भारतले हालै जारी गरेको नयाँ नक्साको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेविसंघले भारतका साथै चीनले पनि नेपाली सीमा मिचेको भन्दै ‘ब्याक अफ इन्डिया चाइना (भारत र चीन फिर्ता जाऊ)’ नाराका साथ माइतीघर मण्डलमा प्रदर्शन गरेको हो।
नेपाल-तिब्बतबीचको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको लिपुलेकबारे नेपालसँग कुनै छलफल नगरेरै २०७२ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ्बीच समझदारी हुनु नै गलत भएको नेविसंघ नेता ऋषिकेशजंग शाह बताउँछन् ।
“भारत र चीन दुबै देशले हाम्रो सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको व्यवाहारिक रुपमै सम्मान गर्नुपर्छ” नेविसंघ नेता शाहले भने, “त्यसैले भारतसँग मात्र होइन सरकारले यसबारे चीनसँग पनि वार्ता गरोस भन्ने हाम्रो माग हो ।”
सीमा विवाद कुटनीतिक र राजनीतिक स्तरमै वार्ता गरेर टुंग्याउनु पर्ने विषय भए पनि वर्तमान सरकारले आफ्नो सत्ता जोगाउन दुबै देशसँग वार्ता गर्ने छाँट नदेखाएको उनले आरोप लगाए ।
“अहिले ब्यापक जनदबाब सिर्जना नगर्ने हो भने सरकारले सीमा विवादसम्बन्धमा भारतसँग मात्र होइन चीनसँग पनि औपचारिक कुरा गर्ने छैन। त्यसैले सरकारलाई वार्ताका लागि दबाब दिन हामीले यो कार्यक्रमको आयोजना गरेका हौं,” नेता शाहले भने ।
२०७२ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ्बीच भएको समझदारीको एउटा बुँदामा भनिएको थियो, 'दुवै पक्ष व्यापार वस्तुको सूची बढाउन वार्ता गर्न र नाथुला, च्याङ्लारलिपुलेक नाका र सिप्किलामा सीमा व्यापार बढाउन पनि राजी भए।'
नेविसंघले विद्यार्थीहरु मात्रै नभएर समाजका हरेक तप्काका व्यक्तिहरुले यसबारे सरकारलाई दबाब दिन जरुरी रहेको जनाएको छ ।
शाह भन्छन्, “सीमा विवादसम्बन्धमा अहिले देशमा सबैपक्षबीच अभूतपूर्व एकता देखिएको छ, यस्तो अवस्थामा पनि सरकारले तदारुकता देखाएर समस्या समाधान गरेन भने कहिले गर्ने ?”






