काठमाडौं- राधजानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
नयाँ पत्रिकाले प्रधानमन्त्री केपीशर्मा ओली मृर्गौला फेर्ने निष्कर्षमा पुगेको विषयलाई मुख्य समाचार बनाएको छ ।
मिर्गौलाले १० प्रतिशतभन्दा पनि कम काम गर्न थालेपछि प्रधानमन्त्री मृगौला नै फेर्ने निष्कर्षमा पुगेका हुन् । उनको मृगौलामा क्रियाटिनिन लेभल ६.३ मिलिग्राम रहेको नयाँ पत्रिकाले लेखेको छ।
मृगौला प्रत्यारोपण विदेशमा गर्ने की यहि गर्ने भन्ने निर्कोल भने भएको छैन् । प्रधानमन्त्रीका सल्लाहकारको विदेशमा गराउन भनेका छन् भने डाक्टरहरुले स्वदेशमै प्रत्यारोपण गर्न सुझाब दिएका छन्।
यस्तै प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणको निष्कर्षमा पुगेपछि जिम्मेवारी पनि हस्तान्तरण गर्ने योजनामा रहेको नयाँ पत्रिकाले लेखेको छ ।
पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने र उपप्रधानमन्त्री इश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने तयारीमा ओली रहेको समाचारमा उल्लेख छ ।
कान्तिपुर दैनिक भने हरेक वर्ष बढ्दै गएको सवारी दुर्घटनाको विषयलाई मुख्य समाचार बनाएको छ । पछिल्लो १० वर्षमा २० हजार जनाले सडक दुर्घटनामा ज्या गुमाउदा समेत राज्यसंयन्त्रहरु बेखबर बनेको समाचारमा उल्लेख छ ।
नागरिक दैनिकले सीमा अतिक्रमणको विषयलाई मुख्य समाचार बनाएको छ । कैलालीको सीमा क्षेत्रमा भारतीय पक्षले गरेको तारबार र इलामको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल र नेपालका विद्यार्थीबीच झडप भएको विषय प्रकाशित गरेको छ ।
अन्नपूर्ण पोस्ट्ले भने कास्कीमा बढेको चुनावी माहोल र प्रधानमन्त्रीको तेस्रो पटक गरिएको डायलासिसलाई प्राथमिकताका साथ छापेको छ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्ष
नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन् ।
उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए । प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका छन् । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ ।
१३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका ओलीको सोही दिन अल्ट्रा–फिल्ट्रेसन गरिएको थियो । त्यस्तै, अर्को दिन हेमोडायलाइसिस गरेर उनलाई डिस्चार्ज गरिएको थियो । १७ दिनपछि शनिबार ग्रान्डीमै उनको अल्ट्रा–फिल्ट्रेसन गरिएको छ ।
जनबोलीमा सजिलो हुने भएकाले हेमोडायलाइसिस भनिएको उपचारमा संलग्न प्रा.डा. प्रेमराज ज्ञवालीले बताएका छन् । शरीरमा भएको बिकार बाहिर निकाल्ने प्रक्रियाअन्तर्गत हेमोडायलाइसिस गरिन्छ । तर, रगतमा बिकारको मात्रा अत्यधिक भएमा र तत्कालै उपचार गर्नुपर्ने भएमा अल्ट्रा–फिल्ट्रेसन प्रक्रिया अपनाइन्छ ।
पिसाब कम भएको सिकायत भएपछि १३ कात्तिकमा उनलाई अस्पताल लगिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाबाट पिसाबथैलीमा जाने नली ‘ब्लक’ भएको देखिएपछि तत्कालै ‘स्टेन्ट’ राखिएको थियो ।
मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा ‘स्टेन्ट’ राखेर खुलाउने गरिन्छ । सो ‘स्टेन्ट’ले काम गरे/नगरेको निश्चित गर्न ओलीलाई शनिबार अस्पताल लगिएको थियो । तर, यो पद्धति फलदायी नभएको निष्कर्षसहित शनिबार नै ‘स्टेन्ट’ निकालिएको छ ।
दोस्रोपटक प्रत्यारोपण गर्दा जोखिम बढी हुने होइन
मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार क्रियाटिनिन ६.३ देखिएमा अब मिर्गौलाले काम गरिरहन सक्ने अवस्था देखिएन । प्रधानमन्त्रीको उमेर (६८ वर्ष) अनुसार उहाँको मिर्गौलाले १० प्रतिशतभन्दा कम काम गरिरहेको देखिन्छ ।
बिरामीलाई राम्रो चाहने हो भने नियमित डायलाइसिसमा बस्नुपर्छ । अथवा प्रत्यारोपण गरिहाल्नुपर्छ । औषधि मात्रै खाएर बस्दा पनि स्वास्थ्य राम्रो हुँदैन । अन्यथा प्रत्यारोपण पनि सफल हुँदैन ।
डायलाइसिसमा ढिला गरे जोखिम बढ्दै जान्छ, संक्रमण हुन्छ र कमजोर गराउँछ । मुटु, फोक्सो, कलेजो ठीक भएन भने प्रत्यारोपण सफल नहुन सक्छ । डायलाइसिस धेरै झमेला काम हो, त्यसैले प्रत्यारोपण पनि छिटो गर्नुपर्छ । नेपालमा नातेदारबाहेकका व्यक्तिले मिर्गौला दिन पाउँदैनन् ।
भारतमा पनि कानुनी रूपमा नातेदारले मात्रै दिन पाउने व्यवस्था छ । श्रीलंका, सिंगापुर, अमेरिकामा जोकोही व्यक्तिले पनि अंग दिन पाउँछ । दोस्रोपटक प्रत्यारोपण गर्दैमा जोखिम धेरै हुन्छ भन्ने हुँदैन । अहिले प्रधानमन्त्रीलाई प्राप्त समय चुकाउनुहुँदैन, जति सक्दो चाँडो प्रत्यारोपण गर्नुपर्छ ।
‘दुर्घटना होइन, धराप’
कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार मुलुकमा पछिल्लो १० वर्षमा भएका दुर्घटनामा २० हजार १ सय २७ जनाले ज्यान गुमाएका छन् ।
यो अवधिमा भएका १ लाख ७ सय सवारी दुर्घटनामा १ लाख २४ हजार १ सय ८१ जना घाइते भएका छन् । यसमध्ये गम्भीर घाइते हुनेको संख्या नै ४१ हजार ३ सय ५७ छ । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही भएको प्रहरीले जनाएको छ ।
‘तथ्यांकहरू हेर्दा यसलाई दुर्घटना मात्र भन्न मिल्दैन,’ मानवशास्त्री एवं त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका सहप्राध्यापक सुरेश ढकालले भने, ‘यो दुर्घटना होइन, धरापमा पारिएको हो । ३४ जना अट्ने बसमा ७० जना चढाएर दुर्घटना गराउनु भनेको धरापमै पार्नु नभए अरू के हुन्छ ?’
सडक दुर्घटनामा परेकामध्ये ८० प्रतिशतको हातखुट्टा भाँचिने गरेको राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी डा. विनोद शेरचन बताउँछन् ।
‘मोटरसाइकल दुर्घटनामा पर्नेमध्ये धेरैको टाउको, छाती र शरीरका विभिन्न अंग भाँच्चिएको पाइएको छ,’ उनले भने । गम्भीर घाइते भएर एक वर्षसम्म आईसीयू कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्थाका १० प्रतिशत हुने गरेको उनले जनाए ।