काठमाडौं- ‘अकुपाई टुँडिखेल’को तीन महिने अभियानअन्तर्गत शनिबार टुँडिखेलमा खरीका बोट राेपिएका छन्।
सम्पदा अभियन्ताले टुँडिखेल अतिक्रमण भएको भन्दै यसलाई जोगाउन गत शनिबारदेखि ‘अकुपाइँ टुँडिखेल’ अभियान सुरु गरेका हुन्।
वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले अक्सिजन प्राप्तिका लागि टुँडिखेल महत्त्वपूर्ण रहेको बताए। पहिले-पहिले सबै सार्वजनिक कार्यक्रम टुँडिखेलमा रहेको ठूलो खरीको बोटमा हुने गरेको उनले जानकारी दिए।
टुँडिखेल अतिक्रमणमा पर्दै जाँदा रूख काटिएको थियो। राणाकालमा सो खरीको बोटमा उभिएर महत्त्वपूर्ण घोषणा गरिन्थ्यो। राणाकालपछि राजा त्रिभुवनले पनि सो खरीको बोटको चौतारीमा उभिएर सम्बोधन गरेका छन्।
टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो। तर, अहिले टुँडिखेलको सानो हिस्सा खुलामञ्च सर्वसाधारणको पहुँचमा छ। त्यो पनि अतिक्रमण भएको छ। कतिपय हिस्सा सरकारी निकायकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ।