काठमाडौं- भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले शनिबार बिहान कीर्तिपुरस्थित टीयू मैदानमा ब्याटिङ गरेका छन्।
१० ओभरको नेपाल-भारत मैत्री खेलमा बालबालिकासँग तेन्दुलकरले क्रिकेट खेलेका थिए।
मैदानमा तेन्दुलकर आउँदा सर्वसाधारण र सञ्चारकर्मीको घुइँचो लागेको थियो भने तेन्दुलकरसँग खेल्न पाउँदा बालिबालिका हौसिएका थिए।
युनिसेफको कार्यक्रममा सहभागी हुन शुक्रबार राति काठमाडौं आएका तेन्दुलकर शनिबार बिहान टीयू मैदान पुगेका थिए।
तेन्दुलकरले बालबालिकाको एक टिमको नेतृत्व गर्दै मैदानमा उत्रिएपछि क्राउड बढेको थियो।
अर्को टिमको क्याम्पटेन क्रिकेटर विनोद दास थिए।
संयुक्त राष्ट्र संघको बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन्।
शनिबार कार्यक्रममा सहभागी भई उनी साँझ भारत फर्किने कार्यक्रम छ।