चितवन- माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय, माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमण गरेको हो।
मृत्यु हुनेमा माडी नगरपालिका वडा नं १ बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल छन्।
दुवै जना लु३१प २९११ नम्बरको मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गर्दा घटना भएको हो। हात्ती देखेपछि मोटरसाइकल रोकेर भाग्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए।
घटना आज बिहान ७ः३० बजेको समयमा भएको हो।
रासस