काठमाडौं - भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन्। युनिसेफले आयोजना गर्न लागेको पोषण सम्बन्धी जनचेतनामूलक कार्यक्रममा सहभागी हुन उनी शुक्रबार राति काठमाडौं आइपुगेका हुन्। तेन्दुलकर नेपाल एयरलाइन्सको नियमित उडानमार्फत शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए। सचिन युनिसेफका सद्भावना दूत पनि हुन्।
यसअघि ०६९ मा भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनी पनि दुई दिने भ्रमणका क्रममा काठमाडौं आएका थिए। यस्तै भारतीय अन्य क्रिकेटर कपिल देव, सुनिल गवास्करले पनि नेपालको भ्रमण गरेका थिए। देव सन् १९९८ मा कीर्तिपुर मैदानमा भारतीय टेलिभिजन जी टिभीले आयोजना गरेको एक प्रतियोगिता खेल्न नेपाल आएका थिए। गवास्कर भने एक फरक कार्यक्रमका लागि नेपाल आएका थिए।
शनिबार कीर्तिपुर मैदानमा तेन्दुलकर र नेपाली क्रिकेटका पूर्व कप्तान विनोद दासले नेतृत्व गरेको टोलीबीच खेल पनि हुने छ। तेन्दुलकर र दासले काठमाडौंका विभिन्न विद्यालयबाट युनिसेफ आफैंले छनोट गरेका विद्यार्थी टोलीको नेतृत्व गर्दै खेल खेल्नेछन्। खेल १०–१० ओभरको हुनेछ।
तेन्दुलकरले त्रिवि मैदानमै नेपाली पत्रकारका प्रश्नको जवाफसमेत दिनेछन्।