काठमाडौं– नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको अवस्था धेरै घटबढ हुन सकेको छैन। डेल्टा भेरियन्टका कारण उत्कर्षमा पुगेको कोरोना संक्रमणको दोस्रो लहर हाल स्थिर भएको छ।
हुन त कुनै समय ५० प्रतिशतसम्म संक्रमण दर पुगेको पनि थियो तर पछिल्लो दुई महिनायता संक्रमणदर स्थिर जस्तै देखिएको छ। नेपालमा यही वैशाखबाट कोरोनाको दोस्रो लहर सुरु भएको हो।
पछिल्लो समय १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो एक सातालाई हेर्ने हो भने पनि कोरोना संक्रमणको दर १६ प्रतिशतको हाराहारीमा छ। विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमण दर ५ प्रतिशतभन्दा तल भएमा मात्रै नियन्त्रणउन्मुख भएको भन्न सकिने बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार साउन पहिलो साता करिब २१ प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने भदौको पहिलो साता पनि १९ प्रतिशतमा संक्रमण पुष्टि भयो।
त्यस्तै, अघिल्लो एक सातालाई हेर्दा भदौ ८ गते १७ प्रतिशतको हाराहारीमा कोरोना संक्रमण देखिएको थियो। १४ हजार ८१० जनाको परीक्षण गर्दा २ हजार ५२५ अर्थात १७ प्रतिशतमा, भदौ ९ गते २ हजार ४८२ अर्थात १६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै १० गते २ हजार ४३३, ११ गते २ हजार ६५ र १२ गते १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
निषेध आदेश खुकुलो हुनु र मानिसहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नाले कोरोना संक्रमणको दर घट्न नसकेको विज्ञहरु बताउँछन्। मानिसहरुले लापरबाही गर्दै जाँदा कोरोना संक्रमणको तेस्रो लहर आउने विज्ञहरुले चेतावनी दिइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार अहिले कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको छैन। उनले भने, ‘निषेध आदेश खुकुलो भएपछि मानिसहरुले मापदण्ड पालनामा लापरबाही गरेका छन् जसले गर्दा तेस्रो लहरको जोखिम उच्च छ।’
जनस्वास्थ्यविज्ञ डा. शरद वन्तका अनुसार कोरोना संक्रमणको दर जति दरमा घट्नुपर्ने हो, त्यो गतिमा घट्न सकेको छैन। ‘संक्रमणदर स्थिर रहेको लामो समय भइसकेको छ, जसको मुख्य कारण मानिसहरुले निषेध आदेश पालनामा लापरबाही गर्नु र सरकारी तयारी पनि फितलो भएर हो। अहिले पनि संक्रमणका स्रोतहरु चलायमान छन्,’ वन्तले भने।
वन्तले थपे, ‘हामी दोस्रो लहरमा नै जुधिरहेका छौं, संक्रमण दर घटेर फेरि उच्च विन्दुमा पुगेको छैन। त्यसैले नयाँ लहर सुरु भएको छैन। तर तेस्रो लहरको चेतावनी मन्त्रालयले दिइसकेको छ, त्यसैले लापरबाही गर्नु विलकुल हुँदैन।’
खोपका कारण संक्रमण केही घटेको संकेत देखिएको विज्ञहरुको तर्क छ। तेस्रो लहर कति भयावह हुन सक्ने भन्ने विषयमा सहजै अनुमान लगाउन नसक्ने भएकाले व्यवस्थापनको तयारीमा लाग्न वन्तको सुझाव सुझाव छ। वन्त भन्छन्, ‘भाइरसका परिवर्तित स्वरुपहरुमा सधै एउटै व्यवहारले काम नगर्न सक्छ। भाइरस परिवर्तित हुँदै जाँदा त्यसको प्रभाव पनि फरक हुन सक्ने भएकाले नियन्त्रण तथा रोकथामका लागि नयाँ रणनीति पनि खोज्ने हो कि भन्ने लाग्छ।’
सरकारले आइतबारमात्रै सार्वजनिक गरेको सेरोप्रिभिलेन्स सर्वेक्षणमा ६८ प्रतिशत मानिसमा कोरोनाको एन्टिबडी देखिएको छ। यसलाई विज्ञहरुले सकारात्मक पनि लिएका छन्। तर खोप खोप लगाए पनि संक्रमणको जोखिम हुने मन्त्रालयका प्रवक्ता डा. पौडेल बताउँछन्। ‘खोप लगाएपछि वा एकपटक कोरोना भएर एन्टिबडी बनिसकेपछि कोरोना हुँदैन भन्ने धेरै मानिसको भ्रम छ, जुन विलकुल गलत हो, खोप लगाए पनि संक्रमण हुने जोखिम उत्तिकै हुन्छ,’ उनले भने।
सेरो सर्वेक्षणको नतिजाले देखाए जस्तै स्तरमा एन्टिबडी विकास भएको भए अब बिस्तारै संक्रमणको गति पनि कम हुँदै जानुपर्ने विज्ञहरू बताउँछन्। भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे सर्वेक्षणको नतिजा सकारात्मक देखिए पनि त्यसको मात्रै भर पर्न नहुने बताउँछन्। हाल स्थिर बनेकोले अवस्था केही सहज देखिए पनि अर्को लहर वा संक्रमण बढ्ने जोखिम कम नभएको उनको भनाइ छ।
हाल संक्रमण दर केही घटे पनि अस्पतालमा उपचाररत बिरामीहरु गम्भिर हुने र धेरैजसोलाई अक्सिजनको साहारामा राख्नुपर्ने अवस्था छ। ‘नयाँ उत्परिवर्तित भाइरस आयो भने खोपले पनि काम गर्न सक्छ भन्न सकिँदैन। साथै हाम्रो शरीरमा बनेको प्रतिरोध क्षमतामा ह्रास ल्याउन पनि सक्छ। त्यसैले फेरि कोरोना संक्रमण उच्च हुन सक्छ,’ पाण्डेले भने।
निषेध आदेशको पालना गर्नु, सामाजिक दूरी कायम राख्नु र जनस्वास्थ्यका मापदण्ड पालना गर्नु व्यायाम र सन्तुलित भोजनमा ध्यान दिनुलाई संक्रमण रोक्न सबैभन्दा प्रभावकारी उपाय भएको विज्ञहरु बताउँछन्।