झापा- झापाको भद्रपुरमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक तोडफोड भएको छ। चारआली-केचना सडक खण्डअन्तर्गत भद्रपुर-९ मा रहेको देउकोटाको शालिक सोमबार मध्यराति अज्ञात समूहले तोडफोड गरेको हो।
देवकोटाको अर्धकदको शालिक तोडफोड भएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। ‘मध्यरातमा तोडफोड भएको जस्तो देखिन्छ। शालिक कसले र किन तोडफोड गर्यो भन्ने पत्ता लाग्न सकेको छैन। समितिका पदाधिकारीलाई सोधपुछका लागि बोलाएका छौं,’ उनले भने।
देवकोटाको अर्धकदको शालिक भत्काएर दुई टुक्रा बनाइएको अवस्थामा रहेको देवकोटा स्मारक तथा संरक्षक समितिका अध्यक्ष सन्तोष पोखरेलले बताए। यसअघि पनि यो शालिकको तीनपटकसम्म तोडफोड भएको उनले बताए।
‘शालिकलाई यसअघि पनि तीनपटकसम्म तोडफोड गर्ने प्रयास गरिएको थियो,’ उनले भने, ‘यसपटक मध्यरातमा फटाहाले तोडफोड गरे। शालिक क्षतविक्षत बनाइएको छ। अर्धकदको शालिकको टाउको एकातिर र अन्य भाग अर्कोतिर बनाएर दुई टुक्रा पारिएको छ। शालिक भएको क्षेत्रमा बस्ती खासै छैन। छिमेकीले पनि भत्काएको थाहा पाएन छन्।’
यो शालिक जनस्तरबाट निर्माण गरिएको उनले बताए। शालिक सडकबीचमा भएका कारण दुई वर्षअघि नै सार्ने निणर्य भएको थियो। शालिकमा कार ठोकिएर गत असारमा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंका श्रीमान तथा एमाले नेता ज्ञानुराम प्रसाईंको मृत्युसमेत भएको थियो। उनको मृत्युपछि सरकारी निकायले पनि शालिकले दुर्घटना जोखिम बढाएको भन्दै अन्यन्त्र सार्न छलफल अघि बढाएको थियो।
‘सडकबीचमा दुर्घटना जोखिम बढाएकाले हामीले दुई वर्षअघि नै सार्ने निणर्य गरेका थियौं। अहिले भएको ठाउँ अलिक पर सार्ने योजना थियो। तर, हामीसँग पैसा अभाव भयो। साहित्यिक संस्थासँग कहाँ पैसा हुने र!,’ अध्यक्ष पोखरेलले भने,‘यो देवकोटा नचिनेका सर्वसाधरणले पैसा उठाएर बनाएको शालिक हो। सार्नका लागि हामीसँग पैसा भएन। दुर्घटनामा शालिकलाई दोष लगाइयो। तर, त्यहाँ सडक नै राम्रो छैन। साँघुरो सडक छ। यसलाई व्यवस्थित गरे दुर्घटना जोखिम कम हुन्छ।’
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले महाकवि देवकोटाको शालिक तोडफोडका विषयमा अनुसन्धार भइरहेको बताए। ‘यो घटनामा हामी संवेदनशील छौं। घटनामा संलग्नलाई चाँडै पत्ता लगाएर कारबाहीको दायरामा ल्याउँछौं,’ उनले भने।