काठमाडौं– अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रुपमा फिर्ता भएको छ। अमेरिकी रक्षा विभागले एउटा तस्बिर सार्वजनिक गर्दै भनेको छ– अफगानिस्तान छाड्ने यी अन्तिम अमेरिकी सैनिक हुन्।
यसका साथै अफगानिस्तानमा २० वर्षसम्म चलेको युद्ध औपचारिक रुपमै अन्त्य भएको छ। अमेरिकी सेना स्वदेश फिर्ता भएसँगै अफगानिस्तानमा तालिबानको पूर्ण नियन्त्रण भएको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनका अनुसार सबै अमेरिकी प्रतिनिधिले काबुल छोडिसकेका छन्। अफगानिस्तानका लागि अब कतारको दोहामा अमेरिकी राजनीतिक कार्यालय स्थापना हुनेछ।
अफगानिस्तानमा पछिल्लो समय तीव्र गतिमा घटनाक्रमहरुको विकास भइरहेको छ।
गएको १४ अगस्टदेखि आजसम्म अमेरिकी सेनाले आफ्नो देशका ६ हजार नागरिकसहित विभिन्न देशका १ लाख २३ हजार मानिसलाई अफगानिस्तानबाट उद्धार गरेको छ।
काबुल हवाई अड्डाबाट अन्तिम अमेरिकी विमान उड्दा त्यहाँ उत्सव मनाइएको थियो। सडकमा तालिबानीहरुले गोली चलाएर खुसी मनाएका थिए।
अमेरिकाले अफगानिस्तानमा हात हालेदेखि सुरु भएको हिंसा सैनिक फिर्ता हुने अन्तिम दिनसम्म पनि जारी रह्यो। अन्तिम विमान उड्ने समयमा विमानस्थलमा विस्फोट भएको थियो।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले एउटा प्रस्ताव पारित गर्दै पश्चिमा युद्ध प्रयासलाई समर्थन गर्ने अफगानहरूलाई देश छाड्न दिने सहितका प्रतिबद्धता तालिबानले पालना गर्ने अपेक्षा गरेको छ।
उक्त प्रस्तावमा प्रतिआतंकवाद, मानव अधिकार र मानवीय सहायता अनि अफगानिस्तानको नयाँ चरणलाई समर्थन गर्ने केही निश्चित सर्तहरू उल्लेख गरिएका छन्।
अन्तिम अमेरिकी फौज फर्किएपछि प्रतिक्रिया दिँदै तालिबानका एकजना प्रवक्ताले अफगानिस्तानले पूर्ण रूपमा स्वतन्त्रता हासिल गरेको बताएका छन्।
चार करोड जनसंख्या भएको अफगानिस्तानमा नयाँ अनिश्चित अध्याय सुरु भएको छ।
अमेरिकाको सर्वाधिक लामो युद्ध अन्त्य भएको भए पनि अफगानहरूको दैनिक संघर्ष अन्त्य भएको छैन। कैयौँ अफगानहरू तालिबानबाट बदला भाव राखिने भन्दै चिन्तित छन् ।