काठमाडौं- स्वदेशी भूमिमा वैदेशिक चलखेलका क्रियाकलाप उजागर गर्ने गरी बनाइएको चलचित्र 'एक'को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार एक विज्ञप्ति जारी गर्दै 'विदेशी चलखेल र हस्तक्षेपबाट देशलाई जोगाउनुपर्ने' सन्देशसहित चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।
चलचित्र 'एक' गुप्तचर संस्थाका एक इमान्दार एजेन्टको संघर्षमा आधारित छ। ‘स्पाइ जनरा’ को चलचित्रमा एजेन्टको भूमिका विशाल पोखरेलले निएका छन् भने उनको सहयोगीको भूमिकामा ज्योत्सना योगी छिन्।
विदेशी स्वार्थको इशारामा देशमा विखण्डनको हिंसात्मक अभियान चल्नु, नेपालको आन्तरिक सुरक्षाका लागि अत्यन्त चुनौतीपूर्ण हुने सन्देश फिल्ममार्फत् देखाउन खोजिएको छ। स्वतन्त्र मधेसको अवधारणा स्थापित गरेर नेपाललाई सधैँ अस्थिर राखिराख्ने षड्यन्त्रको सिकार नेपाल भएको कथानक चलचित्रमा छ।
'हस्तक्षेपका अनेकौँ स्वरूप देखेर हुर्केको हुँदा मभित्र आफ्नो देश जोगाउनुपर्छ भन्ने भावना थियो,' चलचित्र 'एक'का निर्देशक मनोज पण्डितले भने, ‘ग्रेटर नेपाल वृत्तचित्र बनाउँदा भारतसँग सीमाना जोडिएका तराईका भूगोल छिचोल्दै गर्दा मैले स्वतन्त्र मधेसको राजनैतिक विचार बोकेका केही युवासँग भेट्ने मौका पाएको थिएँ। विखण्डनकारी सोचेको पृष्ठभूमि बुझ्ने मौका पनि पाएको थिएँ। यसमा सृजनशीलताका माध्यममार्फत् केही गर्नुपर्छ भन्ने मलाई लागेको थियो। जिम्मेवार र इमान्दार गुप्तचर संस्थाको एजेन्टको मधेस विखण्डनकारी शक्तिविरूद्धको संघर्षमा आधारित भएर चलचित्र ‘एक’ जन्मियो।’
स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा बनेको यो चलचित्रको निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुनुहुन्छ। छायांकन दीपक बज्राचार्य, सम्पादन भरत रेग्मी तथा संगीत गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालको रहेको छ। त्यस्तै एक्सनमा प्रमोद खड्काले आफ्नो दक्षता देखाएका छन्।
चलचित्रमा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले ‘स्पाइ ड्रामा’मा अभिनय छ।
डिजिटल प्लेटफर्ममार्फत यही असोज २१ गते घटस्थापनाका दिनदेखि सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट तथा ओहो मूभिजबाट प्रदर्शनमा आउने भएको छ।
ट्रेलर