इरान - एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत सेन्टर तथा दक्षिण एसियाली छनोटको समूह ए मा रहेको नेपाल जित विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। शुक्रबार अफ्गानिस्तानसँग भएको समूहको अन्तिम खेलमा ६-२ गोल अन्तरले पराजित हुँदै नेपाल प्रतियोगितामा जित विहिन रहेको हो।
खेलको दोस्रो मिनेटमा मोहसेन रेजायीको गोलबाट अफगानिस्तानले अग्रता लिएको थियो। छैठौं मिनेटमा आदिल हामिदले गोल गर्दै खेल बराबरीमा ल्याए। १२औं मिनेटमा सेयेद होसेइन मौसभिले गोल गर्दा नेपाल २-१ ले पछि पर्यो। नेपालका लागि १६ औं मिनेटमा मणी लामाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। १७ औं मिनेटमा अफगानिस्तानका अक्बर काजेमीले गोल गर्दा नेपाल पहिलो हाफमा ३-२ ले पछि पर्यो।
दोस्रो हाफमा अफगानिस्तानले थप तीन गोल गर्यो। २७औं मिनेटमा मेहदी हशेमीले गोल गर्दा नेपाल ४-२ ले पछि पर्यो। ३६औं मिनेटमा फर्जाद महमोदी र खेलको अन्तिम मिनेटमा सेयेद होसेइन मौसभिले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल अफगानिस्तानसँग ६-२ गोलले पराजित भएको हो।
नेपालको यो अगातर तेस्रो हार हो। यसअघि अफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग ६-० गोलले पराजित भएको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग ४-१ ले पराजित भएको थियो।
सन् २०२० मा तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि नेपाल सम्मिलित समूह ए बाट उज्वेकिस्तान र ताजिकिस्तान छनोट भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४