काठमाडौं- आलोचकहरुमाझ दुई-अर्थी दोहोरी र उत्ताउलो स्टेज प्रस्तुतिकी पर्याय भनेर चिनिएकी गायिका ज्योति मगरले यसपटकको तिजमा भने एउटा गम्भिर प्रकृतिको गीत सार्वजनिक गरेर सबैलाई छक्कै पारिन्। आफ्नै शब्द, संगीत र लय मात्र होइन, गीतमा आफैले अभिनय गरेकी ज्योतिको यो गीतले महिलाहरुको पर्व भनेर परिचित तिजको खासोखास मर्म प्रकट गर्दछ।
‘माइतीको मयाँ बरिलै’ शीर्षकको यो गीतमा एउटा विवाहित चेली जो पर्वका बेला माइत जान असक्षम हुन्छे, को भावना अभिव्यक्त गरिएको छ। तीज लागेपछि उसले आफूलाई हुर्काएकी आमा सम्झन्छे। आमाको मायाको अतृप्त आभा प्रकट गर्छे। टाढा हुनुको विवशता र घरेलु बाध्यतामा छटपटिन्छे।
ज्यातिले बनाएको भिडियो सामग्रीमा ज्योति आफैं एउटा विवश नारीको भूमिकामा उभिएकी छिन्। घाँस काट्दै कर्मशील भइरहँदा अरु कुनै पात्र माइत हिँडेको बेला भएको भेटको परिदृश्यबाट उनले आफ्नो व्यथा प्रकट गरेको यो गीत सामन्यतया परम्परागत तिजे मेलोडीमा आधारित छ।
कलाकार ज्योति भन्छिन्, ‘यो गीत अरुले के भन्छ भनेर बनाएको गीत होइन। अरुका लागि बनाएको गीत होइन। यो मेरा लागि बनाइएको गीत हो।’
‘गीत सुन्दा त तपैंको जे परिचय हो, त्यो प्रतिबिम्बित हुँदैन त, किन होला?’ भन्ने जिज्ञासामा गायिका तथा कलाकार ज्योति भन्छिन्, ‘यो गीत अरुले के भन्छ भनेर बनाएको गीत होइन। अरुका लागि बनाएको गीत होइन। यो मेरा लागि बनाइएको गीत हो।’
त्यसैले होला, ज्योतिलाई यो गीतले कति भ्यूज पायो भन्ने पक्ष गौण छ। यद्यपी उनकै यूट्युब च्यानल मार्फत् सार्वजनिक भएको यो गीत क्रमशः सुनिने र हेरिने क्रम भने जारी छ। जम्मा तीनवटा सामग्री पोस्ट गरिएको र १५ हजार मात्र सब्स्क्राइबर रहेको उनको च्यानलमा उनको यो पछिल्लो गीतलाई ५० हजारभन्दा धेरैले सुने÷हेरेका छन्।
योे गीतलाई परिस्थिति र सन्दर्भका हिसाबले जन्मिएको गीत भन्न रुचाउँने ज्योति मगर रोल्पाकी हुन्। उनकी आमा रोल्पातिरै बस्छिन्। ‘स्वभाविक रुपमा यो गीत आमासँग जाडिएको हुनाले गीत बनाउँदा आमाको याद आयो’, उनले सुनाइन्, ‘आमासँग धित मर्नेगरी भेट नभएको धेरै भयो पनि। उनी उता, म यता। झन् यो बीचमा कोरोनाको महामारी पनि भयो।’
आफ्नो स्वान्त सुखायका लागि बनाएको यो गीत ज्याति आफैंलालाई विछट्टै मन परेको छ। ‘आफ्ना लागि बनाउनुको पनि अर्थ रहेछ’, उनले भनिन्, ‘त्यसो त मेरो पहिलो एल्बम् मै पनि यस्तो अलिक विरही गीत थियो। मेरा अरु गीतहरु पनि विरही छन्। तर मलाई यही मन परेको छ, अहिले।’
ज्योतिको ‘माइतीको मया बरीलै’ लाई भिडियोमा उतार्न स्मृति तिमल्सिनाले निर्देशनको जिम्मा लिएकी छिन् भने अजय रेग्मीको भिडियोग्राफी छ। गीतलाई पदम सुवेदीले सम्पादन गरेका छन् भने गीतमा ज्योतिसँगै रितिका कुँवर, शेर बहादुर डाँगी क्षेत्री र गंगा मगरको अभिनय रहेको छ।
भिडियोमा हेर्नुहोस्