‘द स्काई इज पिंक’ मा निर्देशक तथा लेखक शोनाली बोसले आमा–छोरीको सुन्दर र अनौठौ कथा पर्दामा उतारेकी छन् ।
‘म यहाँ बसेर यि शब्द लेख्दैछु, यो पनि एउटा चमत्कार हो । यदि भाग्यले आफ्नो मनशाय परिवर्तन नगरदिएको भए म यो धर्तीमा एक वर्षभन्दा बढी टिक्न सक्ने थिइन् ।’ यिनै शब्दहरुसँग आयशा चौधरीको किताब ‘माइ लिटिल एपिफेनिज’ शुरु हुन्छ ।
१८ वर्षसम्म मात्रै बाँचेर मोटिभेसनल स्पिकरको परिचय बनाएकी आयशा चौधरी जन्मजात सिवियर कम्बाइन्ड इम्यून डिफिसियन्सी डिसअर्डरबाट पीडित थिइन. । शरीरको रोग प्रतिरोधि क्षमता विकास नहुने यो समस्याग्रस्त व्यक्तिहरुका लागि सामान्य संक्रमण पनि निकै घातक बनिदिन्छ ।
‘द स्काई इज पिंक’ मा यही समस्यासँग जुधिरहेकी आयशाको १८ वर्षको यात्रा देखाइएको छ । फिल्ममा उनका आमाबाबुको त्यो संघर्ष पनि देखाइएको छ जसले आयशाको उमेर केही वर्षसम्म तन्काएको छ । यस्तो भइरहँदा फिल्मले जीवन तपाईले जस्तो बनाउन चाहनुहुन्छ, त्यस्तै बन्छ भन्ने कुरा चुपचाप दोहोराईरहन्छ ।
फिल्मले भन्छ, तमाम चुनौतीहरुका बावजुद जीवनलाई चाहेजस्तो बनाउन त्यती नै सजिलो छ जति ड्रइंग बुकमा आकाशको रंगलाई निलोको सट्टा गुलाबी बनाइदिन ।
शोनाली बोसको पहिलो फिल्म ‘अमु’ मा सन् १९८४ को दंगामा आफ्नी आमा गुमाएकी बालिकाको कथा थियो जो वयस्क भइसकेपछि आफ्नी आमालाई खोज्न हिंडछिन् । त्यस्तै उनको अर्को फिल्म ‘मार्गरिट विद अ स्ट्रअ’ सेरेब्रल पाल्सीले ग्रस्त एक किशोरी र उनकी आमाको संवन्धबारे छ । कतिपय मापदण्डमा अघिल्ला दुई फिल्मभन्दा कमतर लागे पनि आमा–छोरी सँगसँगै एउटा परिवारको कथालाई जसरी ‘स्काइ इज पिंक’ मा केलाइएको छ त्यसले फिल्मलाई विशेष बनाइदिन्छ ।
‘द स्काईं इज पिंक’ मा कलाकारहरुको अभिनय उम्दा छ । प्रियंका चोपडाले फिल्ममा जोशिली युवा आमादेखि, छोरी गुमाएर एक्लिएकी अधवैंशे आमाको भूमिका निर्वाह गरेकी छन् ।
यती धेरै फैलिएको भूमिकाका फरक फरक शेड्सलाई उनले जुन ईमानदारीका साथ पर्दामा जीवन्त बनाएकी छन् त्यसलाई केही हरफमा समेट्न गाह्रो छ ।
करिब तीन वर्षपछि पर्दामा देखिएका फरहान अख्तरले निकै संतुलित र खारिएको अभिनय गरेका छन् । फिल्मका भावुक दृष्यहरुमा उनको अभिनय यती उम्दा छ कि धेरै दर्शकको आँखामा आँशु ल्याइदिन्छ । यस्तै राम्रो काम आयशा चौधरी बनेकी जायर वशिमले पनि गरेकी छन् ।
गुलजारले लेखेका गीतका सुन्दर बोलले दर्शकको ध्यान आकर्षित गरे पनि प्रितमको संगीत भने ठिकठिकैको छ । कतै कतै हास्यरस बढी घुसाउन खोज्दा दृष्यहरु बढी नै मेलोड्रामा जस्तो देखिन्छ । तर पनि असली जीवनसँग तादात्म्य राख्ने यो फिल्म हेर्दै गर्दा दर्शकहरु आकाश गुलाबी पनि हुनसक्नेमा विश्वास गर्न थाल्छन् ।
हिन्दी फिल्मका दर्शकहरुका लागि ‘द स्काई इज पिंक’ हेर्नैपर्ने मध्येको फिल्म हुनसक्छ ।
-एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४