सुर्खेत- अविरल वर्षापछि आएको पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्डको अवरुद्ध भएको छ। सल्यानको बनगाड कुपिन्डे नगरपालिका–११ रैकरमा सडकमाथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा रुकुमपश्चिम, जाजरकोट, डोल्पा र सल्यानबाट नेपालगञ्ज जाने र आउने दर्जनौँ सवारीसाधन रोकिएका छन्।
सोमबार बिहानैदेखि अवरुद्ध भएको सडक खुलाउन डिभिजन सडक कार्यालयको डोजरले पहिरो पन्छाइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए।