बिहीबार, भदौ ४, २०८३

सिसडोलवासीको विरोधपछि उठेन काठमाडौंको फोहोर

सिसडोल ओखरपौवाका स्थानीयले बिरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं- काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोल ओखरपौवाका स्थानीयले विरोध गरेपछि अहिले काठमाडौं उपत्यका विभिन्न स्थानमा फोहोर थुप्रिएको छ। दुई वर्षका लागि मात्रै काठमाडौंको फोहोर व्यवस्थापन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर व्यवस्थापनका लागि अन्य स्थान व्यवस्था नगरिएको र सिसडोलमा फोहोर बढेको भन्दै त्यहाँका स्थानीय विरोधमा उत्रिएका हुन्। 

मानव बस्तीको बीचमा फालिने फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरुको गुनासो छ। स्थानीय परशुराम अर्यालका अनुसार ओखरपौवामा १४ वर्षसम्म फालिएको फोहोर व्यवस्थापन गर्न नसक्दा ठूला समस्या देखा पर्न थालेका छन्।

स्थानीयका अनुसार फोहोरको दुषित पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु र बालीनालीमा लगाउनु पर्ने बाध्यता छ। यसले बालिनाली र पशुपन्छीमा विभिन्न रोगहरु पैदा भइरहेको स्थानीयवासी अर्यालले बताए। उनले फोहोरका कारण मानव बस्ती प्रभावित भइरहेकोले सरकारले त्यहाँको उचित व्यवस्थापन गरिदिनुपर्ने उनको भनाइ छ। अर्यालले सरकारले जग्गा अधिकरण गरेर बस्ती हटाउने वा त्यहाँको फोहोर व्यवस्थापन गर्ने र अब बन्चरेडाँडामा फोहोर लग्ने व्यवस्था नमिलाए निकट भविष्यमै ठूलो दुर्घटना निम्तिने बताएका छन्।


‘यो एकदमै कठीन छ, स्थानीय मान्छे विशेष गरी ककनी गाउँपालिका वडा नम्बर २ जहाँ फोहोरको विसर्जन अहिले अस्थायी रुपमा भइरहेको छ। यो दुई वर्षका लागि मात्रै भनेर नेपाल सरकारले जिम्मा लिएको तर १४ वर्ष यहीँ फालिसक्यो,' एक स्थानीयले भने, '१४ वर्ष यसरी फोहोर फाल्दै गर्दा फोहोरको व्यवस्थापन भइरहेको छैन। व्यवस्थापन हुन नसक्दा धेरै ठूलो समस्याहरु देखा पर्दै आइरहेका छन्। फोहोरबाट चुहिएर खोलामा गएको पानी खेतिबारीमा लगाउनुपर्ने अवस्था छ, त्यही पानी गाई वस्तुलाई खुवाउने अवस्था छ, त्यसकारण फोहोरले महामारी पनि आउटलेट हुन सक्छ भन्ने मलाई लाग्छ।' 

ककनी गाउँपालिका वडा नं. २ विशेष प्रभावित क्षेत्र हो। यो हावा त्यत्तिकै प्रदूषित छ,सबै कुरा प्रदूषित छ। त्यसकारण नेपाल सरकार वा सम्बन्धित सरोकार वाला निकाय वा सम्बन्धित निकायले जति सक्दो छिटो यसको व्यवस्थापन अर्को ठाउँमा गर्नुपर्ने स्थानीयको माग छ। 

'मानव बस्ती भन्दा अलि टाढा लगेर व्यवस्थापन गर्नुपर्ने तर हाम्रो यहाँ बस्तीको बीचमै छ। नुवाकोट ककनीको वडा नम्बर १,२ र ३ का साथै धादिङको धुनिबेसी नगरपालीकाका १ र २ वडा र काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको वडा नं. ३ विशेष प्रभावित क्षेत्र हो। 


काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै सबै निकायले छिटो भन्दा छिटो आफ्नो काम गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने बताएका छन्। उनले कोभिड–१९ का कारण केही समस्या आइरहेको बताउँदै  राज्य संयन्त्र मिलेर काम अघि बढाउनुको विकल्प नरहेको बताए। प्रमुख श्रेष्ठले सिसडोलका स्थानीयको मागलाई सम्बोधन गर्ने गरी काम अघि बढाइने पनि उल्लेख गरे।

‘हामीले गत वर्ष नै जानकारी गराएका थियौँ। तर के भनियो भने यस वर्ष फोहोर बन्चरेडाँडा जाँदैन, सिसडोलमा नै व्यवस्थापन हुन्छ भनेपछि हामीले त्यही अनुसारको तयारी गरियो। यस वर्ष बन्चरेडाँडामा व्यवस्थापन गर्ने तयारी भएको पनि हो,' उनले भने, 'तर बजारमा श्रमिकको अभाव र कोभिडका कारण त्यसलालई व्यवस्थपान गर्न सकिएन।'

यस्तै सिसडोड ल्यान्डफिल्ड साइटका इञ्चार्ज सरकारदीप श्रेष्ठले बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको बताएका छन्। हरेक दिन डेढ सय गाडी फोहोर व्यवस्थापन गर्नुपर्नेमा अहिले कहिले १००, कहिले डेढ सय, कहिले ५० गाडी मात्र फोहोर व्यवस्थापन गर्न सकिएको जानकारी गराएका छन्। इञ्चार्ज श्रेष्ठले काठमाडौंवासीले केही समय घरमै कुहिने/नकुहिने फोहोर छुट्याएर राख्ने र कुहिने फोहोरलाई मात्र बाहिर निकालेर नकुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न र सडकमा जथाभावी फोहोर नफालिदिन पनि आग्रह गरे।


‘बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको छ। यस वर्षभन्दा पनि धेरै पानी परेको कारणले गर्दा फोहोरमाथि नै बाटो हुँदा फममा हिँडेको जस्तो लिचिलिचि भएर गाडी उक्लिन नसक्ने अवस्था छ। त्यसैले कहिले डोजरले ठेलेर कहिले तानेर फोहोर व्यवस्थापन गरिरहनु परेको छ,' उनले भने, 'हरेक दिन डेढ सय गाडी फोहोर व्यवस्थापन गर्नुपर्नेमा अहिले कहिलेकाही १००, कहिले डेढ सय, कहिले ५० गाडी हुन्छ। अहिले ५०/६० गाडी फोहोर व्यवस्थापन भएको छ।'

काठमाडौं उपत्यका सडकमा फोहोर भद्रगोल भइसकेको छ। यसलाई न्यूनीकरण गर्न बन्चरेडाँडा ल्यान्डफिल्ड साइट तयार नभएकाले समस्या सिर्जना भएको महानगरको भनाइ छ। 

प्रकाशित: Aug 30, 2021| 15:10 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।