काठमाडौं- अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सूचारु भएको छ। त्रिभुवन राजपथअन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो।
अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सडक खण्ड पूर्णरूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए। अविरल वर्षासँगै सो सडकखण्डमा आइतबार बिहान ८ बजेतिर र आज बिहान पनि करिव साँढे ५ बजेतिर पहिरो गएको थियो। पहिरोका कारण करिव दुई घण्टा सवारी आवातजावत अवरुद्ध हुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परेको थियो।
सुरुङमार्ग निर्माण गर्ने क्रममा सडक फराकिलो बनाउने काम गर्नु परेकाले सो क्षेत्रको सडकमाथिबाट पहिरो झर्ने गरेको प्रहरीले जनाएको छ। पहिरो निरन्तर गइरहेकाले सयौं सवारी साधन र त्यसभित्रका यात्रुहरूले सास्ती खेप्नु परेको छ।