बिहीबार, भदौ ४, २०८३

खत्री दम्पती जो पहिरोबाट मात्र एक मिनेटले बाँचे

६ दशक नाघिसकेका यी दम्पतीको बस्ने घरमा बाढी पसेपछि अलपत्र परेका छन्। ‘राति पहिरो आएको भए त हामी एकै चिहान हुने रैछौं’, खत्रीले भनिन्
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

बुटवल– बुटवल ज्योतिनगर मिलनटोलकी खिमा खत्रीले आइतबार बिहान ५ बजेतिर एक्कासि गड्याङगुडुङ आवाज सुनिन्। केही दिनदेखि पानी परिरहेकाले आकाश गर्जेको होला भन्ने लागेछ उनलाई। फेरि अन्य बेलाको भन्दा केही फरक आवाज थियो। ओछ्यानबाट उठेर यसो चुरे पहाडतिर हेरेको बडेमानका ढुंगा र लेदोसहितको पहिरो घरनजिकै आइसकेको थियो। 

‘बाहिर निस्केर हेर्दा घरनजिकै पहिरो बग्दै आइरहेको थियो। तुरुन्तै पति (लालबहादुर) को हात समातेर घरबाहिर निस्क्यौं’, भावविह्वल हुँदै खिमाले भनिन्, ‘एक मिनेटपछि बाहिर निस्किएको भए पुर्ने रहेछ। ठूलो कालबाट बाँचियो।’ खिमा र उनका पति लालबहादुर बस्दै आएको सानो टिनले छाएको ब्लकको घर अहिले पहिरोले क्षतिग्रस्त छ। 

६ दशक नाघिसकेका यी दम्पतीको बस्ने घरमा बाढी पसेपछि अलपत्र परेका छन्। ‘राति पहिरो आएको भए त हामी एकै चिहान हुने रैछौं’, खत्रीले भनिन्। चुरे पहाडबाट ढुंगासहितको लेदो पहिरोले खत्रीसहित दर्जनौं घरमा क्षति पुर्‍याएको छ। 


खत्री दपम्तीको घर र गोठमा क्षतिग्रस्त भएको छ। ‘हाम्रो सहारा भैंसी पनि हो। धन्य भैंसीचाहिँ  बचाउन सकियो’, लालबहादुरले भने। उनले भाँडाकुँडा र लत्ताकपडा निकाल्न पाएनन्। बिहानी प्रहरमा पहिरो आएकाले बाँच्न सफल भएको दमन्ती सारुले बताइन्। ‘पोहोरपरार केही भएको थिएन, यसपालि एक्कासि ढुंगासहितको लेदोले घर भरिएको छ’ उनले भनिन्। 

ज्योतिनगर क्षेत्रका स्थानीय पहाडबाट ढुंगासहितको पहिरो खसेपछि त्रसित भएका छन्। ‘केही दिनअघि नै माथि डाँडामा पहिरो गएको सुनेका थियौं। त्यसैले रातभर सुतिएन’, दुर्गा भण्डारीले भनिन्। 

पानी परेपछि सो क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन्। ‘यो वर्ष पानी असाध्यै पर्‍यो, हामी त सारै जोखिममा भयौं’, उनले भनिन्, ‘सरकारले तत्काल सुरक्षित बनाउने काम गरोस्।’ 

बुटवल बमघाट र ज्योतिनगरको सीमा क्षेत्रका बस्ती सबैभन्दा बढी जोखिममा परेका छन्। भदौ १० गते बस्तीमाथि खानेपानीको मुहानसमेत रहेको ठाउँमा पहिरो गएको थियो। त्यहाँ पहिरो गएर पानी जम्मा भएको र त्यही फुटेर आइतबारको पहिरो बस्तीमा पसेको स्थानीयले बताएका छन्। 

बुटवल ज्योतिनगर मिलनटोलमा खत्री दम्पतीसहित चार जनाको घर पुरिएको छ। पहिरोका कारण ज्योतिनगर मिलनटोलका १८ घर जोखिममा परेकाले सुरक्षित स्थानमा सारिएको स्थानीय बासिन्दा तथा बुटवल वडा न. ३ का कार्यवाहक वडाअध्यक्ष लीलाप्रसाद श्रेष्ठले बताए। 

उनका अनुसार पहिरो निरन्तर झरिरहेकाले त्यस बस्तीका करिब ५० घर जोखिममा छन्। ज्योतिनगरकै पासाङ टोलमा पनि डाँडाबाट पहिरो झर्न थालेपछि ६० घर जोखिममा परेको श्रेष्ठले बताए। पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडमा ठूलो क्षति पुगेको छ। बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो खसेको हो। 

ज्योतिनगर लक्ष्मीनगर पहिल्यैदेखि असुक्षित 

चुरे पहाडको काखैमा रहेको क्षेत्र हो ज्योतिनगर र लक्ष्मीनगर। प्राकृतिक रुपमा शीतल र केही उँचो भागमा भएकाले यहाँ बसोबासका लागि आकर्षण छ। तर, यो दुवै क्षेत्र पहिल्यैदेखि पहिरोको जोखिमयुक्त मानिन्छ। २०३८ र २०५५ सालको बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभाावित भएको थियो। ज्योतिनगरमा २०५५ साल भदौ २० गते चुरे पहाड नै खसेपछि ५७ घर क्षतिग्रस्त भएको थियो।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले स्थलगत निरीक्षणसमेत गरेका थिए। त्यतिखेर तत्कालीन बुटवल नगरपालिकाले बुटवल तामनगरमा पहिरोबाट विस्थपितलाई स्थानान्तरण गरेको थियो। तर, जग्गा पाएकाहरू फेरि ज्योतिनगरमा बस्न थाले। कतिपयले ठाउँ छाडे पनि नयाँ मानिस आएर बस्न थाले।

‘२०५५ सालमा आएको बाढीपछि भूगर्भविद् टोली नै आएको थियो, बस्तीको माथि डाँडा नै चिराचिरा परेको भनेर रिपोर्ट दिएका थिएँ’, तत्कालीन बुटवल उपमहानगरका उपमेयर विमलबहादुर शाक्यले भने। 


उनले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र पहिल्यैदेखि नै असुरक्षित रहेको बताए। पहाडको कुनाकुनाबाट समेत सडक बन्न थालेपछि थप क्षति हुने क्रम बढेको स्थानीय बताउँछन्। ‘२०५५ सालबाट अहिलेसम्म केही भएको थिएन, अहिले बाटो पनि खुल्यो पहिरो पनि आयो’, स्थानीय चौबहादुर गुरुङले भने। उनका अनुसार बस्ती माथि डाँडामा रहेको पानीको मुहानबाटै पहिरो आएको हो। अहिले पानी ट्यांकीसमेत पहिरोले बगाएपछि ३० घर परिवारले पिउँदै आएको खानेपानी पनि सुकेको छ। 

तिनाउ नदी किनारका ३० घर विस्थापित 

अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले तीव्र कटान गरेको छ। नदी किनारका ३० घर बाढीको जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए। उनका अनुसार नदीमा पानीको बहाव बढ्दै गएकाले जोखिममा रहेकालाई सुरक्षित स्थानमा सारिएको छ। जोखिममा रहेका कतिपयलाई घर र कतिलाई विद्यालयमा राखिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए। तिनाउ नदी अतिक्रमण गरी बसेका चार हजार घर जोखिममा छन्। 


प्रकाशित: Aug 30, 2021| 06:05 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।