भैरहवा– भारतबाट ८ महिनापछि कृष्णनगर नाका हुँदै बुधबार खसीबोका नेपाल भित्रिएका छन् ।
स्वास्थ्य प्रमाणपत्र सहितका १५० ओटा खसीबोका कपिलवस्तुको कृष्णनगर भन्सार हुँदै नेपाल भित्रिएका हुन् ।
सरकारले स्वास्थ्य प्रमाणपत्र नभएका खसीबोकाको आयतमा रोक लगाएपछि गएको फागुन यता भारतबाट खसीबोका नेपाल ल्याउन बन्द भएको थियो । आयतमा ठप्प भएपछि नेपालमा खसीबोकाको मासुको मूल्य समेत बढेको छ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र नियमावली अनुसार विदेशबाट आयात हुने जनावरका लागि स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएपछि गएको फागुनयता नेपालमा खसीबोका भित्रिन सकेका थिएनन् ।
त्यसअघि भारतबाट नेपाल भित्राउने खसीबोकाको सिधै क्वारेन्टाइन जाँच हुने गथ्र्याे । तर पछिल्लो समय भारत सरकारले जारी गरेको स्वास्थ्य प्रमाणपत्र नभएसम्म क्वारेन्टाईन नगर्ने नियम लागू भएपछि खसीबोका आयत ठप्प भएको थियो ।
पशु क्वारेन्टाइन कार्यलय भैरहवाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. गान्धी उपाध्ययका अनुसार कृष्णनगरस्थित पशु क्वारेन्टाइन चेकपोस्टले बाँके जयसपुर गाउँपालिका– ६ का मोहम्मद अकरमको एम ए सप्लायर्सले भारतबाट आयत गरेको स्वास्थ्य प्रज्ञापनपत्र सहितको १५० ओटा खसी बोकाको क्लिनिकल जाँच समेत गरिएको जानकारी दिए ।
विदेशबाट खसीबोका आयतमा कडाई भएपछि नेपालमै बाख्रा पालन व्यवसाय फस्टाउन थालेको छ ।
भारतमा नयाँ दिल्ली, मुम्बई, कलकत्ता, चेन्नई, हैदराबाद र बैंगलोरमा रहेको पशु संगरोध एवं प्रमाणिकरण सेवाले पशु स्वास्थ्य प्रमाणपत्र जारी गर्छ । ती केन्द्रमध्ये कुनै एकमा पुगी स्वास्थ्य प्रमाणपत्र लिन झन्झटिलो हुने हँुदा आयतकर्ताहरुले ८ महिना सम्म खसीबोका ल्याउन सकेका थिएनन् ।
नेपाल सरकारले २०५५ साल देखि पशु स्वास्थ्य प्रमाणपत्र नभएका पशुलाई नेपाल भित्रिन रोक लगाउने नीति लिएको भए पनि ०७५ फागुनदेखि मात्रै कडाई गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४