काठमाडौं- यस वर्षको फिफा वर्ष पुरुष खेलाडी लियोनल मेस्सी घोषित भएका छन्।
उनले कीर्तिमानी छैटौंपटक फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०१९ का लागि सोमबार राति घोषणा गरेको अवार्डमा बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका मेस्सीले युभेन्टसबाट खेल्ने पोर्चुगलका रोनाल्डो र लिभरपुलबाट खेल्ने नेदरल्याण्डका भ्यान डायकलाई पछि पारे।
मेस्सी गत सिजनको ला–लिगाको युरोपियन प्रतिस्पर्धामा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। गत सिजनमा (२०१८ जुलाई ३१ देखि २०१९ जुलाई ३१सम्म) बार्सिलोनाबाट ५० र अर्जेन्टिनाबाट ८ खेल खेलेका मेस्सीले बार्सिलोनाबाट ५१ र अर्जेन्टिनाबाट ३ गोल गरेका थिए।
यसअघि रोनाल्डो र मेस्सीले समान ५ पटक फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका थिए। रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका थिए भने मेस्सीले सन् २००९, २०१०, २०११, २०१२ मा लगातार चारपटक र २०१५ मा समेत जितेका थिए।
महिलातर्फ ३४ वर्षीया अमेरेकी मेगान रापिनले फिफा वर्ष खेलाडीको उपाधि हात पारिन्। उनले अमेरिकी एलेक्स मोर्गान र इंग्ल्यान्डकी लुसी ब्रोन्जलाई पछि पारिन्। उनले महिला विश्वकपमा ६ गोल गरेकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४