काठमाडौं- साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डमाथि फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डमाथि ८–० को फराकिलो जित निकाल्यो।
घरेलु मैदानमा सिटीको जितमा बेर्नार्डो सिल्भाले ह्याट्रिक गरे। यस्तै, डेभिड सिल्भा, सर्जियो अग्युरो, रियाद महरेज, निकोलस ओटामेन्डी र केभिन डी ब्रुएनले १-१ गोल गरे।
पहिलो हाफमा ५-० ले अघि रहेको सिटीले दोस्रो हापमा थप ३ गोल गरेको थियो। खेलको पहिलो मिनेटमा डेभिड सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। सातौं मिनेटमा अग्युरोले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। १२ औं मिनेटमा महरेजले गोल गर्दा सिटी ३-० को स्थितिमा पुग्यो। १५ औं मिनेटमा बेर्नार्डोले र १८ औं मिनेटमा ओटामेन्डीले गोल गर्दै सिटीलाई ५-० को अग्रता दिलाए।
खेलको ४९ औं मिनेटमा बेर्नार्डोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ६-० बनाए। ६० औं मिनेटमा बेर्नार्डोले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। ८५ औं मिनेटमा ब्रुएनले गोल गरेपछि सिटीले वाट्फोर्डमाथि ८-० को जित सुनिश्चित गर्यो।
जितसँगै सीटीओए ६ खेलमा १३ अंक जोड्दै दोस्रो स्थानमा छ। दुई अंक जोडेको वाट्फोर्ड तालिकाको पुछारमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४