काठमाडौं- इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले पुनरागमन जित निकालेको छ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले भेरोना पछि परेको अवस्थालाई उल्टाउदै खेलमा २-१ गोलले विजयी भएको हो।
युभेन्ट्सको जितका लागि आरोन रामसे र क्रिस्टियानो रोनाल्डोले १-१ गोल गरे। भेरोनाका मिगुएल भेलेसोले एक गोल गरे। खेलको २० औं मिनेटमा मिगुएलले गोल गर्दै घरेलु टोलीविरुद्ध भेरोनालाई अग्रता दिलाएका थिए। तर, ३१ औं मिनेटमा युभेन्ट्सका आरोनले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा १-१ गोलको बराबरी भएको खेलको दोस्रो हाफमा युभेन्ट्सले थप एक गोल गर्यो। ४९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए।
खेलको ९० औं मिनेटमा भेरोनाका माराशले दोहोरो पहेलो कार्डसहित रातो कार्ड खादै मैदान बहिरिएपछि भेरोना १० खेलाडीमा समेटिएको थियो।
जितसँगै युभेन्ट्सले ४ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ। पराजित भेरोना ४ अंक जोडेर १२ औं स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४