काठमाडौं– नेपाली राष्ट्रिय यू–१८ फुटबल टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले घरेलु मैदानमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपमा नेपाललाई उपाधि जोगाउन ठूलो चुनौती रहेको बताएका छन्।
यसअघि नेपालमै भएको पहिलो र भुटानमा भएको दोस्रो संस्करणको उपाधि जितेको नेपालका लागि घरेलु मैदानमा उपाधि जोगाउन सबै भन्दा ठूलो चुनौती रहेको उनले बताए। तर, प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गर्नेमा आफू विश्वस्त रहेको प्रशिक्षक श्रेष्ठले बताए।
नेपालले आफ्नो पहिलो खेल भोलि (शुक्रबार) माल्दिभ्ससँग खेल्दै छ। खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को खेल मैदानमा दिउँसो तीन बजे सुरु हुने छ।
उक्त खेलको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले ४५ दिन लामो प्रशिक्षणले टोली बलियो भएको बताए। ‘प्रतियोगितामा सबै टिम बलिया छन्। तर, हामीले त्यही अनुसार तयारी गरेका छौ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘यस पटक घरेलु मैदानमा प्रतियोगिता हुँदैछ । हामीले त्यही अनुसार खेल्दै ह्याट्रिक गर्ने लक्ष्य लिएका छौ।’
अट्याकिङ् लाइनलाई बढी जोड दिएका प्रशिक्षक श्रेष्ठले नेपाली टोलीको मिडफिल्ड सबै भन्दा उत्कृष्ट रहेको बताए। ‘हाम्रो सबै पक्ष राम्रो छ। त्यसमा पनि मिडफिल्ड सबै भन्दा बलियो छ। उपाधि जित्नको लागि हामीले अट्याकिङ लाइनलाई बढी जोड दिएका छांै।’ प्रशिक्षक श्रेष्ठले भने, ‘टोलीमा धेरैजसो अनुभवी खेलाडी छन् र टोलीको अग्रपंक्ति पनि बलियो छ।’
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल असोज ५ गते भुटानसँग खेल्नेछ। समूह ‘बी’ मा भने भारत, श्रीलंका र बंगलादेश रहेका छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४