काठमाडौं – स्पेनिस क्लब रियल मड्रिडले आज (बुधबार) राति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को घरेलु मैदानमा च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेल खेल्दैछ।
युरोपका उत्कृष्ट क्लब मध्यका यी दुई क्लब समूह ‘ए’ मा रहेमा छन्। दुबै क्लब सिजनको पहिलो खेलमा आफ्ना स्टार खेलाडीविना नै मैदानमा उत्रिदै छन्।
लिग वान च्याम्पियन पिएसजी आफ्ना स्टार खेलाडी नेयमार, युवा स्टार केलियन एमबाप्पे र एडिन्सन काभानीविना मैदान उत्रिने पक्का भएको छ। नेयमार गत सिजन युइएफको निलम्बनमा परेका कारण लिगमा सुरुवाती दुई खेल गुमाउने छन्।
त्यस्तै एमबाप्पे र काभानीले भने चोटका कारण सिजनको पहिलो खेल गुमाउने भएका छन्। पिएसजीको फरवार्ड लाइन डि मारिया र इकार्डीले सम्हाल्ने छन्।
यता चोटले पिरोलेको अर्को टोली रियल पनि आफ्ना स्टार खेलाडी सर्जिओ रामोस, लुका मोड्रिच र मार्सेलोविना मैदान उत्रिने पक्का भएको छ। यी तीनवटै खेलाडीविना मैदान उत्रिदा रियलको डिफेन्स र मिडफिल्ड केही कमजोर हुनेछ। तर, रियलको आक्रमक लाइन भने स्ट्राइकर ग्यारेथ बेल, इडेन हाजार्ड र करिम बेन्जेमाले सम्हाल्ने छन्।
यो खेल रियलका मेन्डी र मिलिटाओका लागि एक परीक्षण हुनेछ। पछिल्लो समय खराव लयमा रहेको रियललाई यी दुबै खेलाडीले खेलमा केही फरक शैली प्रस्तुत गर्ने अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४