काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ चिकित्सकहरुले जुनियरलाई मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने तयारी भएको भन्दै प्रधानमन्त्री, स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्य मन्त्रालयका सचिवलाई ध्यानाकर्षणपत्र बुझाएका छन्।
उनीहरुले आज आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, राज्यमन्त्री उमेश श्रेष्ठ र स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई पत्र बुझाएर नियुक्ति रोक्न माग गरेका हुन्।
अस्पतालमा ११औं तहका वरिष्ठ चिकित्सक हुँदाहुँदै १०औं तहका डाक्टरलाई मेडिकल सुपरिटेन्डन्ट नियुक्त गर्न लागिएको कर्मचारीले बताएका छन्। ध्यानाकर्षण गराउनेहरुमा डा. रुद्र मरासिनी, ममता भट्टराई, रुपेश यादव, अभयकुमार पोखरेल, सिलु श्रेष्ठ र विनोद शेरचन छन्। वरिष्ठताका आधारमा जिम्मेवारी दिन उनीहरुको माग छ।
‘एघारौं तहका हामी चिकित्सकहरु ट्रमा सेन्टरमा कार्यरत छौं तर हामीभन्दा धेरै कनिष्ठ १०औं तहका चिकित्सकलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ, जसले गर्दा दैनिक कार्यसम्पादनमा कठिनाइ भइरहेको जानकारी गराउँदछौं,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘११औं तहको दरबन्दी भएको ठाउँमा लामो समयदेखि सबैभन्दा कनिष्ठलाई कार्यालय प्रमुख बनाउँदा हामीले आफू अपमानित भएको र सरकारले गरेको बढुवा प्रणाली पनि औचित्यहिन भएको महसुस गरेका छौं।’
उनीहरुले आगामी दिनमा पहुँचको आधारमा गरिने गलत परम्पराको अन्त्य गरी कार्यदक्षता र वरिष्ठताको आधारमा प्रचलित स्वास्थ्य ऐन तथा नियमावली अनुसार जिम्मेवारी दिने परिपाटीको सुरुवात गर्न अनुरोध गरेका छन्।
ट्रमामा अहिले पनि दसौं तहका डा. सन्तोष पौडेल प्रमुख छन् र सरकार परिवर्तनपछि अहिले ट्रमामा नेतृत्व परिवर्तनको तयारी भइरहेको छ। नयाँ नियुक्ति गर्दा पनि १०औं तहका कर्मचारी नियुक्त गर्न लागिएको कर्मचारीले बताएका छन्।