काठमाडौं– सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल खेल वर्षाले प्रभावित भएको छ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल एकेडेमिको मैदानमा भएको फाइनल खेलको तेस्रो सेटमा भारी वर्षा भएपछि खेल स्थगित भएको हो। अब उपाधि भिडन्तका खेल सुरुदेखी मंगलबार हुने आयोजकले जनाएको छ।
दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको खेलको पहिलो सेटमा आर्मी २५–२३ ले विजयी भएको थियो। त्यस्तै दोस्रो सेटमा पुलिस २५–२० ले विजयी भयो। तर, तेस्रो सेट २१–१९ को स्थितीमा पुग्दा भारी वर्षा भएपछि खेल स्थगित भएको हो।
त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको छ।
खेलमा सुरुवाती दुई सेट एपीएफले २६–२४ र २५–२३ ले जितेको थियो। त्यसपछिको तीन सेट गण्डकीले २५–२१, २५–१९ र १६–१४ ले जित्दै तेस्रो स्थान हात पार्यो।
प्रतियोगिताको विजेता टोलीले ५ लाख र उपविजेताले ३ लाख रूपैयाँ पाउनेछन् । त्यस्तै, तेस्रो र चौथो हुनेले क्रमशः १ लाख र ५० हजार रूपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०/१० हजार रूपैयाँ पुरस्कार पाउनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४