एजेन्सी– नेपाली महिला फुटबल टोली इतिहास रच्नबाट फेरि एकपटक चुकेको छ। पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्दै इतिहास रच्ने नेपालको सपनामा उज्वेकिस्तान बाधक बन्यो। किर्गीस्तानमा सम्पन्न नादेझ्दा कप फुटबलको फाइनल खेलमा नेपाली राष्ट्रिय फुटबल टोली उज्वेकिस्तानसँग पराजित भयो।
बिहीबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ ले पराजित भयो। उज्वेकिस्तानको जितका लागि काराचिक लुड्मिलाले दुई तथा नोजिमोभा दिलडोराले एक गोल गरिन्। नेपालका लागि सावित्रा भण्डारीले दुई गोल फर्काइन्।
खेलको ३९ औं मिनेटमा काराचिक लुड्मिलाले गोल गर्दै उज्वेकिस्तानलाई पहिलो हाफमा १–० को अग्रता दिलाए। बुर्खोनोभा काराचिक लुड्मिलाले मालिकाको पासमा गोल गरेकी थिइन्। त्यसपछि दोस्रो हाफमा उज्वेकिस्तानले थप दुई गोल गर्दा नेपालले पनि थप दुई गोल फर्काएको थियो।
खेलको ५५ औं मिनेटमा नोजिमोभा दिलडोराले गोल गर्दै उज्वेकिस्तानको अग्रता दोब्बर पारीन्। ६४ औं मिनेटमा काराचिक लुड्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै उज्वेकिस्तानलाई ३–० को अग्रता दिलाईन्।
६७ औं मिनेटमा सावित्राले एक गोल फर्काइन्। उनले सरु लिम्बुको पासमा गोल गरेकी हुन्। खेलको अन्तिम समयमा सावित्राले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याइन्। तर, त्यसपछि नेपालले थप गोल गर्न नसक्दा उज्वेकिस्तानसँग पराजित हुन पुग्योे। यसअघि ५३ औं मिनेटमा सरु लिम्बुको प्रहार क्रसबारमा लाग्दै फर्किएपछि नेपाल बराबरी गर्नबाट चुकेको थियो। ८६ औं मिनेटमा सावित्राले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल अग्रता घटाउनबाट बन्चित रह्यो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४