काठमाडाैं- नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान मंगलबार रुख रोपेर सुरु गरेको छ।
देशभरका प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा एक सय ६ वटा बिरुवा रोपेर दोस्रो चरणको अभियान सुरु गरिएको पार्टीले जनाएको छ।
कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर प्रत्येक प्रदेश सभा निर्वाचनमा एक सय ६ वटाका दरले बिरुवा रोपेर अभियानको उद्घाटन गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
उनका अनुसार देशभरका कुल तीन सय ३० प्रदेशसभा निर्वाचनमा ३४ हजार ९ सय ८० बिरुवा रोपेर बिहानै जागरण अभियान सुरु गरिएको छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भक्तपुर क्याम्पस प्रांगण दूधपाटीमा बिरुवा रोपेर जागरण अभियान सुरु गरेका छन्।
महामन्त्री खड्काले प्रदेशसभाका लागि हुने आगामी उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।
पार्टी संगठन बलियो बनाउन दोस्रो चरणको जागरण अभियान सुरु गरिएको भन्दै खड्काले सरकारका जनविरोधी कार्यको भण्डाफोर गर्न आग्रह गरे। भक्तपुर प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४