काठमाडौं- तीन दिने भ्रमणका लागि आइतबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज राजनीतिक भेटघाटपछि दिउँसो स्वदेश फर्किँदै छन् ।
उनी आज बिहान सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ ।
देउवासँग साढे ९ बजे र दाहालसँग १० बजे भेट्ने कार्यक्रम तय गरिएको बताइएको छ । दुवै जनासँग आधा-आधा घण्टा भेट्ने कार्यक्रम तय गरिएको बताइएको छ ।
त्यसपछि उनी दिउँसो स्वदेश फर्किनेछन् ।
सोमबार चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिष्टाचार भेट गरेका थिए ।
सोही दिनकै राति वाङले नेपाली समकक्षीसँगको दुई पक्षीय वार्ता गरेका थिए । वार्तापछि मनाङमा ३५ करोड लागतमा चीनले अस्पताल बनाइदिने, आपत्कालीन राहतका लागि पाँच हजार थान टेन्ट दिने तथा नेपालका सामुदायिक विद्यालयमा चिनियाँ भाषा पढाउन स्वयंसेवक शिक्षक पठाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
वार्तामा दुवै मन्त्रीले विगतमा भएका सहमति र समझदारीको कार्यान्वयनमा पनि जोड दिएका थिए । यस्तै, दुवै पक्षले आपसी चासोका क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहयोग निरन्तर कायम राख्ने कुरामा पनि सहमति जनाएका छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षी र उनको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको कार्यक्रमसमेत आयोजना गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४