भक्तपुर- करिब एक महिनाअघि भत्किएको अरनिको राजमार्ग अझै बनेको छैन । अविरल वर्षासँगै चाखोलामा आएको बाढीले गएको साउन २५ गते सडक भत्काएको थियो ।
बाढीले यस सडकखण्डअन्तर्गत ५४ किलो आसपासको क्षेत्र भत्किएपछि एकतर्फी रुपमा सवारी सञ्चालन हुँदै आएको छ । मालबाहक गाडी चल्न रोक लगाइएको छ ।
सडक भत्किएको एक महिना बित्नै लाग्दा समेत यसको पुर्ननिर्माण नहुँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।
केहि दिनअघिबाट बल्ल सडक डिभिजन कार्यालय भक्तपुरले ५४ किलो आसपासको सडक निर्माणको काम सुरु गरेको छ ।
भत्किएको सडक निर्माणका लागि तीन ठाउँमा खोलादेखि नै जग उठाएर पर्खाल लगाउने काम भइराखेको सडक डिभिजन कार्यालयका इञ्जिनीयर अनन्द श्रेष्ठले जानकारी दिए । आगामी एक महिना भित्र काम सकिने उनले जानकरी दिए ।
भत्किएको ठाउँका आधारमा गरी रु एक करोड ३४ लाख ९८ हजार, ७४ लाख र रु एक करोड ६५ लाखमा गरी कूल रु तीन करोड सात लाख ३८ हजारमा सडकको काम भइरहेको छ ।
तत्कालीन अवस्थामा गरिएको अनुगमनका क्रममा अन्य चार÷पाँच ठाउँमा भासिएको सडकखण्ड भने विस्तारै मर्मत गर्ने गरी प्रक्रिया अगाडि बढाइसकिएको उनले बताए ।
इञ्जिनीयर श्रेष्ठका अनुसार अहिलेसम्ममा ७० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी ३० प्रतिशत काम निर्माणको चरणमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४