काठमाडौ- नवलपरासी बर्दाघाटमा सुनचाँदी व्यवसाय गर्ने योगेश विक अहिले बुवाको उपचारका लागि काठमाडौंमा छन्।
बिहीबार दिउँसो योगेशलाई एकजनाले तारन्तार फोन गरेर सस्तोमा एक किलो सुन किन्न प्रस्ताव गरे।
अहिले सुनको मूल्य आकासिएको छ। चाडपर्वका बेला सस्तैमा सुन पाइने प्रस्तावले सुन व्यवसायी योगेशलाई आकर्षित गर्यो।
वाबुको उपचारको लागि बोकेर ल्याएको पैसा लिएर योगेश सस्तैमा सुनको प्रस्ताव गर्ने नुवाकोटको विदुर-१० का रामबहादुर तामाङलाई भेट्न नयाँ बसपार्क तर्फ लागे। उनलाई बसपार्क नजिकैको मुस्ताङ गेष्ट हाउसको कोठा नम्बर ४०४ मा बोलाइएको थियो।
तर, कोठामा पुगेर कारोबारको कुरा गर्नै लाग्दा केही व्यक्ति आएर बन्दुक देखाउँदै योगेशसँग भएको पैसा लुटेर भागे। पेस्तोल देखाउने व्यक्ति चाहिँ उनै रामबहादुर थिए। जसले आफूलाई ‘सादा पोसाकको प्रहरी हुँ’ भन्दै २ लाख ५० हजार रुपैयाँ लुटेको योगेशले बयान दिएका छन्।
अन्ततः योगेश उजुरी लिएर प्रहरीकहाँ पुगे। लुटेराको खोजी थालेको डीएसपी होविन्द्र वोगटी नेतृत्वको टोलीले शनिबार दिउँसो चार बजे माछापोखरीस्थित हाई रेष्टुरेन्ट एण्ड बारबाट रामबहादुरसहित ८ जनाको समूहलाई पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेमा रेष्टुरेन्टका सञ्चालक कुशल अधिकारी, रेष्टुरेन्टका साझेदारहरु नुवाकोट तारकेश्वर–१ का रामबहादुर तामाङ, विदुर–१० का धर्मराज तामाङ र पिटर तामाङ तथा धादिङ खानीवास–५ का विजय लामा छन्।
त्यस्तै उनीहरुलाई सहयोग गर्ने गुल्मी इस्मा–५ का युवराज भण्डारी, रसुवा छेदिङमो–४ का योर्साङ घले र नुवाकोट तारकेश्वरका राजन तामाङ पनि पक्राउ परेका छन्।
घटनाका मुख्य योजनाकार योर्साङ घले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेतासमेत भएको प्रहरीको दाबी छ। त्यस्तै कुशल अधिकारी नेपाली सेनाका भगौडा सिपाही हुन्।
प्रहरीले उनीहरुका साथबाट ‘सेभेन पोइन्ट सिक्स टू’चाइनिज पेस्तोल दुई थान र त्यसमा लाग्ने म्याग्जिनका साथै चार थान गोली पनि बरामद गरेको छ।
उक्त पेस्तोल नेपाल प्रहरीले बोक्ने खालको रहेको पनि अनुसन्धानबाट खुलेको छ। पेस्तोल द्वन्द्वका बेला लुटिएको हुनसक्ने अनुमान गरेको प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।
पक्राउ परेका ८ जनाले बाहिर रेष्टुरेन्ट व्यवसाय गरिरहेको देखाए पनि उनीहरुको मुख्य काम लुटपाट नै रहेको खुलेको छ।
प्रहरीका अनुसार लुटेरा समूहले शनिबार राति वौद्धको एक घरमा डकैती गर्ने योजना बनाइरहेका बेला उनीहरु पक्राउ परेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४