काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीबजारलाई सरकारले हस्तक्षेप गर्न सक्ने बताएका छन्।
पछिल्लो समय पूँजीबजारको दायरा, अवस्था र सूचकको वृद्धिदर राम्रै भए पनि सरकारविरुद्धका हल्लाका कारण बजार ओरालो लागिरहेको भन्दै सरकारले नै पूँजीबजार हस्तक्षेप गर्न सक्ने बताएका हुन्।
उनले सेयर बजारसँग सम्बन्धित नेप्से र धितोपत्र बोर्डलाई इंकित गर्दै भने, ‘अहिले सरकार विरोधी हल्लाका कारण बजार ओरालो लागिरहेको छ बेलैमा यसलाई नरोकेमा सरकारले बाध्य भएर हस्तक्षेप गर्छ।’
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को दशौं वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री डा. खतिवडाले सरकारले लगानीकर्ता तथा पूँजीबजारसँग सम्बन्धित सरोकारवालालाई बाटो देखाइदिएको बताएका छन्।
उनले कार्यक्रममा बोल्दै पूँजीबजारलाई खेलौना नबनाउन समेत आग्रह गरेका छन्।
पछिल्लो ३ देखि ४ वर्षमा नेपालको आर्थिक क्षेत्रका प्रायजसो सुचकहरु सकारात्मक भए पनि देशभित्रैको गिरोहले सरकारको विरोध गर्न नकारात्म हल्ला फैलाउने काम गरिरहेको उनको भनाई थियो।
यस्तै उनले नेपालमा सिर्जना भएका रोजगारमा विदेशी श्रमिकले हस्तक्षेप गरिरहेको उनको भनाई छ। ‘नेपालमा रोजगार नपाईने होईन,’ तर नेपाली कामदार विदेश जाने र विदेशी कामदार भने नेपालमा आएर काम गर्ने प्रवृत्तिको अन्त्य हाल लागू गरिएको स्थायी लेखा नम्बर (प्यान) नम्बरले गर्नेछ।’
हाल नेपालका सातै प्रदेशको आर्थिक वृद्धि तथा अन्य सूचकहरु पनि सकारात्मक भएको उनको भनाइ छ। यस्तै उनले बैंकिङ क्षेत्रको दायरासमेत अधिक रुपले बढेको बताएका छन्।
सोही कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सेयर बजारमा कालोधन सकिएर बजार पारदर्शी भएका कारण नेप्सेको सूचक घटेको दावी गरेका छन्।
उनका अनुसार बजार घट्नुमा अन्य कारणले नभई सम्पूर्ण लगानीकर्ता अनलाइन सिस्टम पूर्ण रुपमा लागू भए पनि सम्पूर्ण लगानीकर्ताहरु आबद्ध भएपछि यो क्रम न्युन हुने उनको तर्क छ। उनले समस्याहरु समाधान भए पनि लगानीकर्ताको मनोवल खस्केका कारण बजार घटेको दाबी गरे।
उनले आक्रोशित हुँदै भने, ‘जहिले पनि बजार घट्यो भन्छन्, हामीसँग जादुको छडी छ र बजार बढाउनलाई ? बजार घट्ने र बढ्ने भनेको लगानीकर्ताको हातमा हुन्छ। हामी त माध्यम मात्रै हौँ। सेयर बजार घट्दा नेप्सेलाई वा अन्य नियामक निकायलाई दोष लगाउने काम बन्द गरिनुपर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४