अमेरिकाका नील आर्मस्ट्रंग चन्द्रमामा पैतला राख्ने पहिलो पृथ्वीवासी थिए । २१ जुलाई १९६९ को दिन, नेपाली समय अनुसार विहानको ८ः४१ बजे, उनी चन्द्रमामा ओर्लिएका हुन् ।
हामीमध्ये धेरैलाई अमेरिकाबाट प्रक्षेपण गरिएको अन्तरिक्षयान ‘कोलम्बिया’ बाट अलग्गिएकोे अवतरणयान ‘ईगल’ चन्द्रमामा बसेको थियो र त्यसबाट आर्मस्ट्रंग नै सबैभन्दा पहिले बाहिर निस्किएका थिए भन्ने थाहा छ । तर, चन्द्रमाको सतहमा पाइला राख्नुभन्दा पहिले आर्मस्ट्रंगले मुख बाँधिएको एउटा प्लास्टिकको थैलो चन्द्रमामा फालेका थिए भन्ने धेरैलाई थाहा नहोला ।
आर्मस्ट्रंग चन्द्रमको सतहमा यानको सिंढीबाट ओर्लिंदै गर्दा उनका सहयात्री बज एल्ड्रिनले उनलाई यो थैली दिएका थिए । थैलीमा दुबैजनाको दिसा–पिसाब र उडानका बेला खानपिनपछि बचेका सामानहरु थिए ।
यो पहिलो यस्तो फोहोर थियो, जो कुनै मानिसले आफ्नै हातले चन्द्रमामा फालेको थियो । संभवतः यो फोहोर अहिलेसम्म जस्ताको तस्तै चन्द्रमामा छ ।
आर्मस्ट्रंग र एल्ड्रिनलाई चन्द्रमामा पैतला राख्नुअघि त्यहाँ फोहोर गर्नु भनेर न कसैले अह्राएको थियो, न त उनीहरु चन्द्रमामा आफ्नो आची फाल्न चाहन्थे । यो एउटा अनिवार्यता थियो ।
चन्द्रमामा टेकिसकेपछि उनीहरुलाई फेरी ‘ईगल’मा बसेर ‘कोलम्बिया’ सम्म पुग्नु थियो । र, चन्द्रमाको आकाशमा परिक्रमा गरिरहेको कोलम्बियाले उनीहरुलाई पृथ्वीमा फिर्ता ल्याउनु थियो ।
‘ईगल’ मा ठाउँ धेरै थिएन, इन्धन पनि ठिक्क थियो । त्यसैले यानबाट फोहोर बाहिर निकालेर त्यसको भार हलुंगो बनाउँदा थोरै भए पनि ईन्धन बच्थ्यो र अलिक ठाउँ पनि बन्थ्यो । त्यसैले आर्मस्ट्रंग र उनका साथीका लागि चन्द्रमालाई फोहोर पार्नुबाहेक अर्को उपाय थिएन ।
चन्द्रमामा पुगेको ५० औं वर्षिकोत्सवभन्दा केही पहिले बज एल्ड्रिनले आफ्नो एक ट्वीटमा लेखेका छन्, “जो कसैले मेरो त्यो थैलो भेट्न सक्छ, त्यसकाप्रति म खेद प्रकट गर्दछु।’
आर्मस्ट्रंग र बज एल्ड्रिनपछि अमेरिकाले अरु पाँचवटा चन्द्र–अभियान सञ्चालन गर्यो । थप १० यात्रीले चन्द्रमामा विचरण गरे । सन् १९७२ सम्म चलेको यो अभियान अवधिमा सबैले केही न केही फोहोर चन्द्रमामै छोडेर आए ।
अहिलेसम्म १९० टन फोहोर
अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ को अनुमानमा चन्द्रमामा करिब १९० टन मानव निर्मित फोहर छरिएको छ ।
नासाको एक सूची अनुसार, अमेरिकाका दुई प्रथम चन्द्रयात्री जुन ठाउँमा ५० वर्षअघि ओर्लिएका थिए त्यहाँ ५० भन्दा धेरै वस्तु छरिएका छन्– अतिरिक्त लेन्ससँगै एउटा टीभी क्यामरा, केही पाइप र ढक्कन, एउटा सुरक्षा पेटी, एउटा रिमोट कन्ट्रोल, एउटा हथौडा र चिम्टाजस्ता केही औजारहरु ।
चन्द्रमामा न त हावा छ, न पानी पर्छ, त्यसैले ती सबै वस्तु आज पनि उस्तै हुनुपर्छ, जस्तो पहिलो दिनमा थिए ।
भावी चन्द्रयात्रीले यदि ती वस्तुको रंगरुपमा केही फरक पाएछन् भने त्यो दिउँसोको चर्को घाम, दिन र रातको तापक्रममा २९० डिग्री सेल्सियसको अन्तर र सूर्यबाट आउने रेडियो विकिरणको परिणामले गर्दा हुनसक्छ ।
रद्दी वा फोहोर बनेका यस्ता वस्तु चन्द्रमामा पुगेर फाल्ने कामको शुरुआत निल आर्मस्ट्रंगले थैलो फाल्नुभन्दा करिब १० वर्ष पहिले १३ सेप्टेम्बर १९५९ बाट भएको थियो ।
त्यस दिन तत्कालीन सोभियत संघको पहिलो चन्द्रयान ‘लूना २’ चन्द्रमाको सतहमा ठोक्किएर ध्वस्त भएको थियो । १४ घण्टा २२ मिनटमा पुगेको त्यो यानका टुक्रा चन्द्रमामा मानिस सिर्जित पहिलो फोहोर थियो ।
त्यसपछि सोभियत संघकै थप चन्द्रयान त्यहाँ पुगे । सन् १९६६ मा पुगेको ‘लूना ९’ भने चन्द्रमाको सतहमा सकुशल ओर्लिएको थियो । पृथ्वीमा केही तस्वीरहरु पठाएको उक्त यानको ब्याट्रि तीन दिनपछि डिस्चार्ज भएपछि त्यो यान अझैं पनि चन्द्रमामै फोहोर बनेको छ ।
त्यसपछि अमेरिका, यूरोपेली अन्तरिक्ष एजेन्सी, चीन, जापान र भारतले पनि आफ्ना यान चन्द्रमामा पठाए ।
तीमध्ये केही चन्द्रमामा ठोक्किएर ध्वस्त भए, केही सफलतापूर्वक ओर्लिएका यानहरु उपयोगिता समाप्त भएपछि त्यहीं फोहोर बनेका छन् । अहिलेसम्म ३० भन्दा धेरै यान चन्द्रमामा ओर्लिएका वा ठोक्किएर नष्ट भैसकेका छन् ।
फोहोरमात्र छोडिएको छैन
करिब ८ महिनाअघि २२ फेब्रुअरी २०१९ मा एक इजरायली धनाढ्यको अभियान अन्तर्गत अमेरिकाबाट प्रक्षेपित चन्द्र यान ‘बेरेशीत’ ११ अप्रिलमा चन्द्रमामा खसेर नष्ट भएको छ ।
उक्त अभियान चन्द्रमामा भएको पहिलो यस्तो दुर्घटना हो जसले पहिलो पटक हजारौं सुक्ष्म किराहरु चन्द्रमा छोडिदिएको छ, जो बिना हावा, पानी र भोजन वर्षौसम्म जीवित रहन सक्छन् । यो किराको जीववैज्ञानिक नाम ‘फाइलम टार्डिग्राडा’ हो जसलाई अंग्रेजीमा ‘वाटर बेअर’ भनिन्छ ।
एक मिलिमिटर भन्दा पनि सानो आकारका आठ खुट्टे यि किरा निकै जाडो होस् वा गर्मी, हावा र आहार बिना कयौं दशकसम्म जीवित रहनसक्छन् । कतिसम्म भने रेडियो विकिरणले पनि यो जीवलाई केही नोक्सान पुर्याउन सक्दैन ।
चिस्यान मन पराउने यो किरा सुख्खामा पनि आफूभित्रको तरलता त्यागेर आफैंलाई सुकाएर निर्जिब जस्तै बनिदिन्छ । वर्षौंपछि पनि चिस्यान पाएपछि यो पुनर्जीवित हुनसक्छ । चन्द्रमा पुगेको यो ‘वाटर बेअर’ पनि त्यहाँको घोर गमी र सर्दीसँगै ब्रह्माण्डीय विकिरणलाई लामो समय थेगेर जीवित रहने अनुमान गरिएको छ ।
यदि भविष्यका चन्द्रयात्रीले वाटर बेअरलाई चन्द्रमामा जीवितै भेट्टाए भने यसको अर्थ हुनेछ– मानिसले जीवनहिन चन्द्रमामा फोहोर मात्रै होइन, जीवन पनि पुर्याएको छ । चन्द्रमामा जीवन पुर्याउने अभियान अन्तर्गत वाटरबेयर त्यहाँ पुर्याइएको हो । यसअघि पृथ्वीबाट चन्द्रमामा कुनै ब्याक्टेरिया आदि नपुगोस भनेर निकै सावधानी अपनाइन्थ्यो ।
अमेरिकी अन्तरिक्षयात्रीहरुले चन्द्रमामा केही यस्ता वस्तु पनि छोडेका छन् जसलाई फोहोर भन्न उचित हुने छैन ।
उदाहरणका लागि आर्मस्ट्रंगर एल्ड्रिनले त्यहाँ अमेरिकाको झण्डा गाडेका छन् । एउटा जैतूनको रुखको सुनौलो हाँगा र पृथ्वीवासीका तर्फबाट सद्भावना संदेश सहितको एउटा फ्लपी डिस्क पनि त्यहाँ राखेका छन् ।
दुबैले जर्मनीमा बनेको विशेष प्रकारको काँचको रिफ्लेक्टर पनि त्यहाँ राखे जसले पृथ्वीबाट पठाइएका लेजर किरणहरुलाई परावर्तित गर्छ । त्यस्कै सहायताले पहिलोपटक पृथ्वी र चन्द्रमाबीचको सटिक दूरी नापियो ।
त्यसपछि पनि राखिएका ‘ल्यूनर लेजर रेजिंग एक्सपेरिमेन्ट’ भनिने यस्ता दर्पणबाट अहिले पृथ्वी र चन्द्रमाबीच बढदै गएको दूरी नापिन्छ । अहिले चन्द्रमा पृथ्वीबाट प्रतिवर्ष ३.८ सेन्टिमिटर टाढा भइरहेको छ ।
भारतले भर्खरै प्रक्षेपण गरेको र अहिले चन्द्रमाको परिक्रमा गरिरहेको ठानिएको चन्द्रयान– २ कुनै पनि बेला चन्द्रमामै खसेर ध्वस्त हुनेछ ।
दुई दिनअघि मात्रै चन्द्रमाभन्दा दुई किलोमिटर टाढा रहँदा उसको भारतको प्रयोगशालासँगको सम्पर्क विच्छेद भएको थियो ।
चन्द्रमाको गुरुत्वाकर्षण शक्ति पृथ्वीको भन्दा ६ गुणा कम छ । तर पनि चन्द्रमाले पृथ्वीका समुद्र र महासगरको पानी औषतमा एक मिटर माथि उठाउने र तल छोड्दै ज्वारभाटा उत्पन्न गराउँछ ।वैज्ञानिकहरुले करिब साढे चार अर्ब वर्ष पहिले मंगल ग्रह जत्रो आकाशीय पिण्ड पृथ्वीमा ठोक्किएपछि चन्द्रमा बनेको अनुमान गरेका छन् ।
यो ठक्करबाट पृथ्वीको एउटा भाग टुक्रिएर चन्द्रमा बनेकाले दुबैको संरचनामा धेरै समानता भेटिएको उनीहरुको भनाई छ ।
पृथ्वीभन्दा भिन्न चन्द्रमाको वायुमण्डल छैन न त चुम्बकीय बलक्षेत्र । त्यसैले त्यहाँ जीव जन्तुका लागि प्राणघातक ब्रह्माण्डीय विकिरण निरन्तर चलिरहन्छ । दिउँसो सूर्य जब लम्बवत माथि आउँछ त्यसबेला यहाँको तापक्रममा १३० डिग्री सेल्सियससम्म पुग्छ । जबकि, रातमा शून्य भन्दा १६० डिग्री सेल्सियस कम हुन्छ ।
यती धेरै समस्या हुँदाहुँदै पनि मानिसले चन्द्रमामा वस्ती बसाउने र मंगल ग्रहसम्मको उडानका लागि चन्द्रमालाई अड्डा बनाउने सोच राखेकै छ । चन्द्रमाको कम गुरुत्वाकर्षण शक्तिका कारण त्यहाँबाट मंगल ग्रहको यात्राका लागि त्यहाँबाट ठूला रकेट र धेरै इन्धनको आवश्यकता पर्ने छैन ।
पछिल्लो समय चन्द्रमामा पानी र दूर्लभ धातुहरुका साथै परमाणु इन्धनको काम गर्ने हाइड्रोजनको ऐसे आइसोटोप पनि छ भन्ने अनुमान गरिएपछि त्यहाँ पुग्ने नयाँ होड शुरु भएको छ ।
-सत्याग्रहबाट साभार /अनुवाद