कपिलवस्तु- डेंगुको संक्रमणबाट कपिलबवस्तुमा एक महिलाको मृत्यु भएको छ ।
कपिलवस्तु वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार मृत्यु भएको हो । दुई दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी उनमा डेंगु संक्रमण देखिएको थियो ।
आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । योसँगै यसवर्ष डेंगुबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । यसअघि डेंगुबाट सिन्धुपाल्चोक, चितवन, डोटी र सुनसरीमा एक एक जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवार, डोटीको दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी, चितवनको भरतपुर महानगरपालिका–२ का ७१ वर्षीय पुरुष र सुनसरीमा जनाको मृत्यु भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन १ गतेदखि अहिलेसम्म २५५९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । त्यसअघिको समेत जोड्दा संक्रमितको संख्या करिब ७ हजार पुग्छ ।
चेकजाँच गर्न अस्पताल नआएका र आफ्नै तवरबाट निजी अस्पतालमा उपचार गराई राखेकाहरुको संख्या करिब ७० हजार हुन सक्ने अनुमान गरिएको छ।
पछिल्लो एक महिनामा मात्रै प्रदेश १ मा ७५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १०९३ जना, प्रदेश ४ मा ५७२ जना, प्रदेश ५ मा १०५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना संक्रमित थपिएका छन् ।
यो रोगको संक्रमण कास्की, मकवानपुर, सुनसरी, चितवनमा बढी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
सुनसरीबाट देखिएकाे डेंगुकाे संक्रमण ४२ जिल्लामा फैलिएकाे छ भने उच्च पहाडी क्षेत्रमा समेत यसको संक्रमण देखिन थालेको छ ।
रोग नियन्त्रणका लागि लामखुट्टेबाट जोगिने उपायका बारेमा व्यक्ति आफै सचेत हुनु पर्नेमा चिकित्सकहरुले जोड दिदैं आएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४