शुक्रबार, साउन २९, २०८३

पतिको उपचारका लागि मकै पोल्ने धनकुमारी...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - शंखमुल र कोटेश्वर जोड्ने दोभान पुल नजिककैको सडक पेटीमा धुँवाको मुस्लो उडेको टाढैबाट देखिन्छ। मध्यान्न १२ बजे त्यहाँ पुग्दा ५८ वर्षीया धनकुमारी घलेले प्लास्टिकको बोराबाट हरियो मकै निकालेर पोल्ने तयारी गर्दैछिन्।

रातभरको वर्षाले भिजेका दाउरा राम्रोसँग नबलेपछि फलामको पाताले हम्किँदै र मुखले फुक्दैछिन् उनी। जब आगो राम्रोसँग बल्न थाल्यो अनि चुल्हो वरपर मकैका घोगा सेकाएपछि बल्ल बोल्ने फुर्सद मिल्यो धनकुमारीलाई।

पेटीमा बसेर मकै पोल्न थालेपछि मध्यान्नको चर्को घाम र आगोको रापले अनुहारभरि खलखली पसिना बगेको उनलाई प्रवाह छैन। पोलेको मकै खान आउने ग्राहकको ‘अर्डर’ अनुसार छानेर मकै पोलिदिँदै आफ्नो परिचय दिन्छिन् उनी। नाम धनकुमारी घले, उमेर ५८ वर्ष, ठेगाना हाललाई काठमाडौं।

‘पत्रकार’ सँग कुरा गर्न उनलाई खासै रुची छैन। केही दिनअघि मात्रै एक व्यक्तिले आफूलाई पत्रकार भनेर चिनाउँदै भिडियो खिचेका थिए। त्यो घटना उनले विर्सिएकी छैनन्। विर्सिन पनि कसरी सक्थिन् र ? भिडियो खिच्ने व्यक्तिले आफूले नबोलेको र नभएका कुराहरु जोडेर युट्युबमा राखेछन्। हुँदाहुँदा नामसमेत अर्कै राखेर युट्युबमा भिडियो हालेको कुरा जेठी बुहारीबाट उनले थाहा पाइन्। हुँदै नभएको कुरा र बोल्दै नबोलेको कुरा युट्युबमा आयो भन्ने सुनेपछि उनलाई रिस उठेको छ। 

युट्युबमा के–के आएको थियो त्यो उनले खुलाईनन्।



बिहान सबेरै भक्तपुरको दुवाकोटस्थित मकैबारीमा पुगेर मकै ल्याउने, दिनभर सडक पेटीमा बसेर मकै पोल्ने र राती ९ बजे चुल्हो छोपेर ओछ्यानतिर लाग्ने उनको दैनिकी छ।

धनकुमारीले दुवाकोटको मकै दोभान चोकको सडक पेटीमा पोल्न थालेको करिब डेढ दशक बितिसकेको छ। 

मकै पोल्ने पेटीसँगै जोडिएका लहरै सटरहरुमा चार भाई छोराका पसल छन्। जेठेको तरकारी, माइलोको होटेल र बाँकी दुई सटरमा साईँला र कान्छा छोराको ग्यारेज।
जेठो छोराको तरकारी पसल बाहिर पेटीमा बसेर उनले एक दिनमा ८० देखि एक सय वटासम्म मकै बेच्ने गरेकी छन्।

‘यसरी पेटीमा बसेर मकै नबेच्न छोरा बुहारी र छोरीले बारम्बार भन्छन्, तर मलाई खाली बस्न मनै लाग्दैन’, अनुहारमा बगेको पसिना हातले पुछ्दै धनकुमारी भन्छिन्, ‘अब बाचुँञ्जेलसम्म मकै पोलेरै बसिने त होला।’ 

मिहेनत गरेअनुसार उनले आम्दानी पनि राम्रै गरिरहेकी छन्। राम्रो व्यापार भए खर्च कटाएर दिनमा एक हजार पाँच सय र ठिकठिकै भए पनि एक हजार रुपैँयासम्म आम्दानी हुने गरेको उनले बताइन्।

‘कसैको चोर्न र अरुलाई ठग्न पो हुँदैन त, दुःख गरेर खान जे काम गर्दा पनि हुन्छ नि’, आफ्नो कामप्रति गर्व गर्दै उनले भनिन्, ‘गरेर खानेलाई धेरै छ, नगर्नेलाई केही छैन।’ 

मकै बेच्दाका तिता मिठा अनुभव उनीसँग छन्। पैदल हिँड्नेले भनेजति पैँसा तिरेर मकै खाने तर चिल्ला गाडीमा आउने कोही कोहीले भने दुई–चार रुपैँयाको लागि पनि ‘बार्गेनिङ’ गर्ने गरेको उनलाई नमिठो लाग्छ।



१९ वर्षको उमेरमा लम्जुङबाट पतिसँग पहिलो पटक काठमाडौं खाल्डोमा छिरेकी धनकुमारीको झण्डै चार दशकको समय निकै संघर्षमा बित्यो। ‘सुरुमा बुढाबुढी पालिनका लागि संघर्ष गर्नुपर्‍यो, पछि छोरा छोरी पाल्न।’, उनले सुनाईन्, ‘अहिले श्रीमानको उपचारका लागि पनि दुई चार पैसा कमाउनु नै परेको छ।’
 
झण्डै दुई दशकअघि पतिको मानसिक सन्तुलन बिग्रिएपछि धनकुमारीले मकै, बदाम बेचेर जम्मा गरेको रकमले उपचार गरिरहेकी छिन्। पतिको उपचार र घरखर्चबाट बचेको पैसा जुन छोरालाई आवश्यक पर्छ उनले प्रयोग गर्ने गरेका छन्।

‘छोरालाई चाहिएपछि पैसा दिनै पर्‍यो, बुढेसकालमा उनीहरुले नै पाल्ने हुन्।’, धनकुमारीले भनिन्।उनलाई कहिलेकाही मकै पोल्न बुहारीहरुले पनि सघाउँछन्। 

‘सासु आमा त हामी भन्दा पनि बलियो हुनुहुन्छ’,जेठी बुहारीले सुनाईन्,‘हामी दुःख नगर्नु भन्छौँ उहाँले मान्नुहुन्न।’

दैनिकी नै मकै पोल्ने भएपछि धनकुमारी यसमै खुसी छिन्। आवश्यक खर्च चलेको छ, कसैसँग लिनुदिनु केही छैन। न तनाव न सन्ताप।

स्वदेशमा काम पाइएन भनेर महंगो पैसा खर्चिएर विदेश जान खोज्नेहरुका लागि मिहेनत गरे स्वदेशमै पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन्, धनकुमारी...
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।