काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्के लगत्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेका प्रचण्डले अहिलेसम्मका गतिविधिबारे ब्रिफिङ गरेका हुन्।
सिंगापुर जाने बेला ओलीले प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार प्रत्यायोजन गरेका थिए।
ओलीको अनुपस्थितिमा प्रचण्डको अध्यक्षतामा बसेको पार्टीको बैठकले केही पदाधिकारीसमेत थप गरेको थियो ।
भेटमा सहभागी महासचिव विष्णु पौडेलका अनुसार दुई अध्यक्षबीच ओलीको स्वास्थ्य अवस्थाबारे पनि छलफल भएको थियो ।
मिर्गौलासम्बन्धी उपचारका लागि ५ भदौमा सिंगापुर गएका प्रधानमन्त्री ओली आज २० भदौमा स्वदेश फर्किएका हुन् ।
सिंगापुरस्थित न्याशनल युनिभर्सिटी अस्पतालमा उपचारकै क्रममा प्रधानमन्त्री ओलीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग छलफल गरेका थिए ।
स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनकी निजी चिकित्सक दिव्या सिंह शाहले जानकारी दिएकी छन् ।
ओली स्वदेश फर्किएपछि विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित काम गर्न सक्ने उल्लेख गरेकी छन्।
प्रधानमन्त्रीको शरीरमा बढेको एन्टीबडीलाई वैज्ञानिक प्रक्रियाबाट हटाउने प्रक्रियासमेत पूरा भएको शाहले बताएकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४