काठमाडौं – अबदेखि धितोपत्र सदस्य दलाल व्यवसायी (ब्रोकर) ले पनि मार्जिन कारोबार गर्न पाउने भएका छन्।
शेयर लगानीकर्तालाई यो खुसीको कुरा हो। लगानीकर्ताले अबदेखि सेयरमा लगानी गर्नको लागि बैंक तथा वित्तिय संस्थामा सेयर धितो राख्न पर्दैन। उनीहरुले अबदेखि कारोबार गरिरहेको ब्रोकर मार्फत नै सेयर धितोमा ऋण लिन पाउने भएका छन्।
विहीबार नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार गर्न मिल्ने केन्द्रीय निक्षेप सेवा विनियमावलीको पाँचौ संसोधनलाई स्वीकृति दिएसँगै ब्रोकरले पनि मार्जिन कारोबार गर्न पाउने भएका हुन्।
यो व्यवस्थासँगै सिडिएससीले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि हितग्राही खाता सम्बन्धी व्यवस्था गर्नुपर्ने छ। व्यवस्थापछि सदस्यहरुलाई धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफबारे जानकारी गराउनुपर्ने छ।
सो व्यवस्थापछि राफसाफ सदस्यले मार्जिन कारोबारको लागि निक्षेप सदस्य मार्फत राफसाफ हितग्राही खाता खोल्न सक्ने छन्।
ब्रोकरले पनि मार्जिन कारोबार गर्न पाउने भएपछि धितोपत्र बजारको दायरा बृद्धि हुने तथा कारोबारसमेत विस्तार हुने अपेक्षा नेपाल धितोपत्र बोर्डले लिएको जनाएको छ।
नेपालभर जम्मा ३१ वटा ब्रोकर कम्पनी मात्र मार्जिन कारोबारको लागि योग्य देखिएका छन्। मार्जिन सेवा पाउनको लागि कम्तिमा १० हजार शेयरधनी भएका कम्पनीको शेयर लगानीकर्तासँग हुनुपर्नेछ।
खुद सम्पत्ति चुक्ता पूँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा दश प्रतिशत लाभांस वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिना भित्रमा वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनी मार्जिन कारोबार सुविधा योग्य हुने नेपाल धितोपत्र बोर्डले जनाएको छ।
मार्जिन कारोबारको लागि नेप्सेले तयार पारेको सूचिमा २७ वटा बाणिज्य बैंकहरुमध्ये ११ वटा मात्रै योग्य देखिएका छन्। त्यस्तै ६ वटा विकास बैंक, तीन वटा हाइड्रोपावर, ९ वटा माइक्रोफाइनान्स, एउटा होटल र अन्य समूहको नेपाल टेलिकम मात्रै योग्य देखिएको छ।
बोर्डले मार्जिन कारोबारका लागि कायम हुने व्याजदरलाई आवश्यक परेमा हस्तक्षेप गर्न सक्छ। बाँकी बजारले नै व्याजदर तय गर्ने बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४