काठमाडौं – संघीय संसदका समिति सभापतिका लागि खरिद गरिएको गाडीमा समस्या आएपछि छानविन गर्न गठित समितिले गाडी खरिद गर्दा आर्थिक चलखेल नभएको प्रतिवेदन सभामुख कृष्ण बहादुर महरालाई बुझाएको छ।
समितिका संयोजक रामनारायण विडारीका अनुसार संसद समितिका सभापतिहरुको लागि ११ वटा गाडी किनिएको र त्यसमध्ये पाँचवटा गाडीमा समस्या देखिएको थियो। समस्या आएपछि विडारीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेर छानविन गरिएको थियो।
छानविनमा आर्थिक चलखेलको विषयमा अनुमान गर्नुबाहेक प्रमाणबाट केही नदेखिएको संयोजक विडारीले मंगलबार जानकारी दिए। उनले भने,‘ कागजमा आर्थिक अनियमितता देखिएन, अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्ला, कागजमा आर्थिक अनियमितता नदेखिएकोले हामीले केही भन्न मिलेन। तर आर्थिक चलखेल नभएको भए पुरानो मोडेलको गाडी किन खरिद गर्दथे र नयाँ मोडलको नै गाडी खरिद हुन्थ्यो होला। तर कागजातबाट भने पुष्टि भएन।’
गाडीहरुमा इन्जिनमा नभएर बाहिरी कुराहरुमा मात्र समस्या देखिएको छ। जस्तै फिटिङ गर्दा राम्रोसँग नगरिएको, स्पिकर पनि नमिल्दो प्रकारले हालेको जस्ता समस्या देखिएको र यो आपूर्तिकर्ता कम्पनीले बनाउनुपर्ने उनले बताए।
बाहिरी समस्या देखिएपछि समितिले आपूर्तीकर्ता अग्नी इन्टरनेशनलाई सात दिनभित्र मर्मत गरिदिन र यदी सात दिनभित्र पनि मर्मत भएर नचलेमा अर्को सातदिन भित्र नयाँ गाडी फेरिदिनु पर्ने सुझाव दिएको छ। यदी सुझावअनुसार नगरिदिए कम्पनीलाई प्रचलित सार्वजनिक खरिद ऐन र नियम बमोजिम कारबाही गर्न सिफारिस गरिएको पनि विडारीले जानकारी दिए ।
विडारीले आगामी दिनमा गाडी खरिद गर्दा खरिद युनिट बनाएर नै नयाँ मोडेलका गाडीहरु किन्नुपर्ने सुझावसमेत सो प्रतिवेदन मार्फत दिइएको जानकारी दिए ।
सभामुख महराले प्रतिवदेन ग्रहण गर्दै प्रतिवेदन अध्ययन गरेर अगाडी बढ्ने बताए । संसदको ११ वटा समिति सभापतिले ८ साउनमा पाएका गाडीमा विभिन्न समस्या देखिएको थियो। समस्या देखिएपछि समितिका सभापति रामनारायण बिडारीको संयोजकत्व पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
समितिमा मानवअधिकार तथा कानुन समिति सभापति कृष्णभक्त पोखरेल, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, लेखा समिति सभापति भरत साह र दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट सदस्य थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४