शुक्रबार, साउन २९, २०८३

बेथिति रोक्ने सीडीओको ६ महिनामै सरुवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बझाङमा डोजर आतंक नियन्त्रणका लागि सार्थक प्रयास गरिरहेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेश सुनारको गृह मन्त्रालयले ६ महिनामै सरुवा भएको छ।

सडक बनाउने नाउँमा जथाभावी भीरपाखा खोस्रिएर पहिरो जाँदा नेपालका पहाडी जिल्लाका कैयौं गाउँहरु विस्थापित भएका छन् भने वन र खेतबारी पहिरोले पुरिएका छन्।

कतिसम्म भने, करिब डेढ महिनाअघि खप्तड छान्ना गाउँपालिका- ६ पाटादेवलको आगासे खेतमा भर्खरै रोपिएको धानमा समेत डोजर चलाएर बाटो बनाइएको थियो। 

स्थानीय जनप्रतिनिधिले नै डोजर खरिद गरी ठेक्कामा लगाउने प्रचलन बढेपछि यसले गाउँमा बेरोजगारी सिर्जना गरेको, डोजर चालककै डिजाइनमा बनेका सडक वर्षा याममा भत्किएर काम नलाग्ने भएको, सवारी दुर्घटना बढ्दै गएको जस्ता अचाक्ली हुन थालेपछि बझाङका सीडीओ सुनारले जिल्लामा डोजरको जथाभावी प्रयोगमा बन्देज लगाएका थिए।

गएको १७ फागुनमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएर बझाङ पुगेका सुनारले डोजर आतंक नियन्त्रणको प्रयास थालेदेखि नै स्थानीय नेताहरु उनको सरुवाका लागि केन्द्रमा धाउने क्रम बढेको थियो।

सरकारले गत बिहीबार २६ जिल्लाका सीडीओहरुको सरुवा गर्दा सुनारको पनि सरुवा गरेको हो। 

“अन्धाधुन्द डोजरले खोस्रिएर बनाइएका स्तरबिहीन सडकले सवारीसाधनको  दुर्घटना र अन्य दुर्घटना बढेको देखेपछि मैले सबैको सल्लाहमा डोजर नियन्त्रणको प्रयास गरेको हुँ” सुनारले भने, “यो कुरा धेरैलाई पचेन र मेरो सरुवा गराइयो।”

सुनारका अनुसार बझाङका ग्रामिण सडकमामात्र गएको एक वर्षमा सवारी दुर्घटनामा परी २४ जनाले ज्यान नै गुमाएका छन्।

सुनारको सरुवाका लागि बझाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद भैरवबहादुर सिंहको नेतृत्वमा नेताहरु गृहमन्त्रालयमा डेलिगेशन आएका थिए। 

“जनताको पक्षमा राम्रो काम गरिरहेका सीडीओको सरुवा गरेर गृहमन्त्रालयले बेथितिलाई बढावा दिएको छ,” बझाङकै सांसद आशा बिक भन्छिन्, “डोजर आतंक रोक्नेमात्रै नभई नागरिकता वितरण र अन्य सरकारी सेवा वितरणका लागि दुर्गम गाउँमै पुगेर सेवा दिने गरेका सीडीओको यति चाँडै सरुवा गर्ने कदापी उचित होइन।”

कुनै अध्ययन र डिजाइन बिनै जथाभावी डोजर चलाएर बनाइएका सडकले विनाश निम्त्याइरहेको भन्दै सांसद बिकले संसदमा समेत आवाज उठाउँदै आएकी छन्। 

सुनारको मोरङको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि बझाङबासीले आईतबार उनलाई बाजागाजासहित सदरमुकाम चैनपुर बजार परिक्रमा गराएर भब्य बिदाई गरेका छन्। 

बझाङ सदरमुकामबाट चार दिन पैदल दुरीमा रहेको साइपालसम्म पुगेर नागरिकता वितरण गर्ने सुनार नै पहिलो सीडीओ भएको स्थानीय बासिन्दा बताउँछन्। 

स्थानीय पत्रकार बसन्तप्रताप सिंह पनि छोटो समयमै सुशासनको अनुभूति गराउन थालेका सुनारको सरुवाबाट स्थानीय बासिन्दा आक्रोशित भएको बताउँछन्। 

सीडीयोले के गरे ?

बझाङ पुगेको साढे दुई महिनामै जिल्लाको वस्तुस्थिति बुझेपछि उनले प्राविधिक डिजाइन र लाभ–जोखिमको अनुमान नगरिकनै डोजरले जथाभावी सडक खनेको देखेपछि त्यस्तो काम रोक्न शुरु गरे।

एकातिर जिल्लाका युवाहरु रोजगारीका लागि भारतमा सडक खन्न जानुपर्ने अवस्था र अर्कोतिर गाउँमा धमाधाम डोजर लगाएर सडक निर्माण भइरहेको विडम्बनापूर्ण स्थिति उनका लागि सैह्य भएन। 

त्यपछि उनले जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बोलाएर त्यसमा सबै राजनीतिक दलका प्रतिनिधिहरुलाई पनि सहभागी गराए। 

पर्यावरण र विकासलाई सन्तुलित रुपमा अगाडि बढाउन नसक्दा भविष्यमा ठूलो जोखिम आउने तर्फ उनले सचेत गराएपछि, सबैले अनियन्त्रित रुपमा डोजर चलाउने काम रोक्न सहमत पनि भए।

त्यसपछि उनले जिल्लाका १२ वटा स्थानीय तहमध्ये सडक पुगेका ११ वटा तहलाई वातावरणीय जोखिम र त्यसबाट पर्ने समग्र असरको अध्ययन र अनुमान गरेर अत्यावश्यक ठाउँबाहेक अन्यत्र डोजर प्रयोग नगर्न सचेत गराए। 

तर, डोजरमा लगानी गरेर नाफा कमाउन पल्केका जनप्रतिनिधिलाई यो कुरा चित्त बुझेन। र उनीहरु सीडीओको सरुवा गराउनै पर्ने निर्णयमा पुगे। 

बढ्दो खाद्य असुरक्षा

बझाङमा सडक बनाउने नाममा मलिला फाँट र भीरपाखा डोजरले जथाभावी खोस्रिंदै गर्दा खाद्य असुरक्षा बढेको छ। 

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार सडक निर्माण र त्यससँगै पहिरो जाने क्रम बढेपछि बझाङको करिव ६ हजार रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ। 

खाद्य अधिकारका क्षेत्रमा कार्यरत संस्था फियान नेपालले हालै गरेको अध्ययनले पनि बझाङमा अनियन्त्रित डोजर प्रयोगले खाद्य असुरक्षा बढाएको निष्कर्ष निकालेको छ। 

फियानका कार्यकारी निर्देशकसमेत रहेका बझाङका स्थानीय अशोक सिंहले अन्धाधुन्द सडक निर्माणले कैयौंको उठिबास लाग्नुका साथैै खानेपानी र सिंचाई आयोजनामा क्षति पगेको बताउँछन्। 

डाँडामा नागबेली आकारमा काटिएका सडकमा पहिरो जाँदा बेंसीको खेतीयोग्य जमिन बगरमा परिणत भएको उनको भनाई छ।

सीडीओ सरुवा गराउन स्थानीय नेताको टोलीका साथ गृहमन्त्रालय पुगेको आरोप लागेका सांसद भैरवबहादुर सिंहले भने सरुवा बारे आफूलाई केही थाहा नभएको दाबी गर्छन्। 

लामा छोटा गरी एक सय २० भन्दा बढी सडक संख्या रहेको बझाङमा करिब ५० वटा डोजर रहेको अनुमान गरिन्छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।