काठमाडौं- ११ दिनदेखि सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिसको काम अझै जारी छ ।
बुधबार सातौं अर्थात अन्तिम चरणको रुपमा प्लाज्मा फेरेसिस गरिसकेपछि उपचार पूरा हुने प्रधानमन्त्रीका निजी चिकित्सक दिलिप शर्मालाई उदृत गर्दै प्रेस सल्लाहाकार कुन्दन अर्यालले जनकारी दिएका छन् ।
सोमबार (आज) छैटौं चरणको प्लाज्मा फेरेसिस गर्न लागिएको उनले नेपाल समयलाई जानकारी दिए ।
हालसम्म पाँच पटक सोही प्रक्रियाबाट मिर्गौलासम्बन्धी एन्टीबडीलाई निराकरण गरिएको छ । सोमबार छैटौं र बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पुरा हुने जनाइएको छ । त्यसपछि थप चेकअपको काम हुने प्रेस सल्लाहाकार अर्यालले बताए ।
प्रेस सल्लाहाकार अर्यालले आइतबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे जानकारी दिदैँ ट्वीट गरेका थिए । उनले लेखेका छन्- 'सम्माननीय प्रमको प्लाज्मा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ। प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ। प्रमको स्वास्थ्य अवस्था सामान्य छ।'

अर्यालले बाहिर हल्ला भएजस्तो मृगौला नै फेर्ने भन्ने विषयमा कुनै तयारी नभएको र प्रधानमन्त्रीको अवस्था पनि त्यस्तो नभएको बताए । 'उहाँको अवस्था सामान्य छ । मृगौलामा देखिएको केहि समस्या प्लाज्मा फेरेसिसमार्फत निराकरण हुन्छ ।' उनले नेपाल समयसँग भने ।
प्रधानमन्त्री गत भदौ ५ गते दोस्रो चरणको स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । उनको न्यासनल युनिभर्सिटी अस्पतालमा उपचार भइराखेको छ ।
प्रधानमन्त्री ओली उपचार सकेर भदौ २० गते शुक्रबार स्वदेश फर्किने भएका छन् । नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार अवस्था सामान्य बन्दै गएको छ । शुक्रबार फर्किने कार्यतालिका बनेको छ।
१० दिनका लागि सिंगापुर गएका उनी ५ दिन ढिला गरी शुक्रबार स्वदेश फर्किन लागेका हुन् ।
गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमै पुगेर उपचार गराएर फर्किएका थिए । तर, फेरि समस्या देखिएपछि उनी भदौ ५ गते सिंगापुर गएका हुन् ।
के हो प्लाज्मा फेरेसिस उपचार विधि ?
मृगौला रोग विशेषज्ञका अनुसार ‘रगतको फिल्टर गर्ने र रगतमा रहेको घातक एन्टीबडीलाई हटाउँने विधिलाई प्लाज्मा फेरेसिस भनिन्छ ।
यसले रगतमा रहने पहेँलो तरल पदार्थ अर्थात प्लाज्मालाई शरीरका अरु भागमा रक्तसञ्चार गराउँछ। रगतमा रहन सक्ने दूषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले त्यस्ता घातक पदार्थ छुट्याएर रिप्लेस गर्ने अथवा रक्त शोधन गर्ने काम गर्छ ।
यद्यपि यो डायलेसिस जस्तै प्रक्रिया हो तर, विशेष गरी यसले रगतको प्लाज्मा अंशमा रहेका एन्टीबडी हटाउन यो विधिको प्रयोग गरिन्छ ।
सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई यहि बिधिबाट उपचार गरिएको छ । उनको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीले यस अघि पनि पटक पटक काठमाडौं, दिल्ली, बैंकक र सिंगापुर जस्ता अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।